बाँके,
लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवर्धन गर्न लिएको नीतिअनुरूप पहिलो पटक बाँकेमा मौवाको मदिरा परीक्षण उत्पादन सुरु हुनेभएको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमको आयोजना गर्ने भएको हो । राप्तीसोनारी गाउँपालिका र पर्यटन डिभिजन कार्यालय बाँकेले पालिकाको कार्यालयमा बैठक बसी आर्थिक वर्ष २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रम ‘मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन तथा व्यवस्थापन’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
पर्यटन डिभिजन कार्यालय प्रमुख दिनेश अधिकारी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनीषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटालगायत राप्तीसोनारीका विभिन्न वडाका वडाध्यक्षको उपस्थितिमा भएको बैठकले सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत प्रदेशभर विभिन्न जातिको लोकल पेय पदार्थ र मदिरा (अनदी, कौबा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालीगुराँस आदि) उत्पादनका लागि तालिम, टेस्टिङ ल्याब निर्माण, उपकरण खरिद, प्याकेजिङ, ब्रान्डिङ, मार्केटिङ तथा पूर्वाधार निर्माण कार्य गर्ने उल्लेख गरेको छ ।