काठमाण्डौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका ती नेपाली युवालाई सकुशल फिर्ता गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको उहाँको भनाइ छ ।
आज बुधवार काभ्रेको धुलिखेलमा काठमाण्डौ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विभिन्न बाध्यताका कारण दुई सय जनाभन्दा धेरै नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर पाएको र यो चिन्ताजनक भएको बताउनुभयो । उहाँले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेका र तिनको उचित व्यवस्थापन गर्नसके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उल्लेख गर्नुभयो ।
आज दीक्षित हुने सम्पूर्ण विद्यार्थीलाई पनि उहाँले ज्ञान र सीपलाई देश र मानव हितमा लगाउन आग्रह गर्नुभयो । साथै विदेश गएका विज्ञ एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न उहाँको अनुरोध छ ।