बुटवल ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको पाचौं दिन सोमवार मेलाको अवलोकन गर्न उल्लेख्य दर्शकहरु प्रदर्शनी स्थल पुगेका छन् ।
सार्वजनिक विदाको दिन परेका कारण दर्शकको विहानैबाट बाक्लो उपस्थिति रहेको थियो । विहान १० बजेबाट सुरु भएको टिकट विक्रिका लागि काउन्टर खुल्ला गरिएको भए पनि अवलोकन कर्ताहरु सो समयभन्दा अगाडिदेखि नै लाइनमा बसेका थिए । टिकट लिएर अवलोकन गर्न आएका दर्शकहरुलाई लाइनवद्ध बनाएर सजिलै प्रवेश गराउन आयोजकहरु सक्रिय रहेका थिए ।
एक्स्पो मुल आयोजक समितिका सदस्य सचिव तथा रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारीका अनुसार सोमवार मात्र एकै दिन करिव ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेका छन् । अवलोकनका लागि आएका दर्शकहरुले खाद्यान्न, कपडा, कस्मेटिक, साबुन, चिया तथा कृषि उत्पादनका स्टलहरुमा बढी चासो राखेका थिए । सोमवार मात्र करिव ३० लाखको आर्थिक कारोवार भएको अनुमान गरिएको छ ।