काठमाण्डौ
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले छ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका पाँच जना नेताहरू– कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बाग्मती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशका राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । यस्तै लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको महासचिव पोखरेलले बताउनुभयो ।
त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।
महासचिव पोखरेलले भन्नुभयो, ‘भर्खरै भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशबीचको बैठकमा के–के विषयमा छलफल भयो र के–के विषयमा सम्झौता भए भन्ने कुरा सत्तापक्षले प्रतिपक्षसँग परामर्श नगरेको कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नहरूमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो गरेन । यो विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छौँ ।’