कपिलवस्तु
बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले व्यावसायिक मही उत्पादन सुरु गरेको छ । उद्योगले वैशाख पहिलो सातादेखि दैनिक १ हजार लिटर मही उत्पादन गरेर बिक्री थालेको हो ।
५० करोड रुपैयाँ लगानीमा १० वर्षअघि सञ्चालनमा आएको उद्योगले अहिले नयाँ प्रडक्टका रूपमा मही उत्पादन थालेको हो । नेपालमै पहिलो पटक बोटलिङ र लेभलिङ गरी महीको व्यावसायिक उत्पादन सुरु गरिएको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।
उद्योगले एक लिटरको बोतलमा आकर्षक प्याकसहित मही बजारमा ल्याएको छ । बुद्धभूमि र शिवराज नगरपालिकाबाट बिक्रीवितरण सुरु गरिएको मही अहिले लुम्बिनी प्रदेशका भारतीय सीमावर्ती ६ जिल्लामा बजार विस्तार गरिएको अध्यक्ष न्यौपानेले सुनाए । अब प्रदेशभरि पुर्याएर मुलुकभर लैजाने लक्ष्य राखेको उनको भनाइ छ । बुद्ध जन्मस्थलको पहिचान स्थापित गर्न ‘बुद्धभूमि’ ब्रान्डमा मही उत्पादन सुरु गरिएको उनले जनाए । ‘यसले बुद्ध जन्मस्थलको मही कस्तो रहेछ भन्ने जिज्ञासा पनि हुन्छ,’ उद्योगका लेखा अधिकृत शंकर पाण्डेले भने, ‘शीतलतासँगै महीले दिने ऊर्जाले आनन्दित पनि बनाउँछ ।’
महीको उपभोक्ता मूल्य ५० रुपैयाँ तोकिएको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ परेकाले उद्योगको प्रतिबोतल लागत ३८र४० रुपैयाँ रहेको पाण्डेले बताए । महीको स्वच्छता र गुणस्तरमा ध्यान दिन फुड टेक्नोलोजिस्टको सिफारिसअनुसारको दही प्रयोग भइरहेको उनको भनाइ छ । ‘सुरुमा दही जमाउने दूधको फ्याट परीक्षण गरिन्छ । त्यसपछि दहीको अम्लीयपन र पीएच जाँच गरेर सेवनयोग्य दहीबाट मही बनाइन्छ,’ उनले भने, ‘दही र प्रशोधित पानी प्लन्जरमा मथेर टुटीबाट झारेर बोटलिङ गरिन्छ ।’ १२ बोतलको एउटा प्याक बनाएर प्रिजिङ गरेपछि मागअनुसार बजारमा पुर्याउने गरिएको छ ।
उत्पादित मही ५र६ दिनसम्म उपभोग गर्न योग्य हुने उद्योगका फुड टेक्नोलोजिस्ट राजेन्द्रसिंह लोधले बताए । अहिलेसम्म २८ हजार लिटर बिक्री भइसकेको छ । बोटलिङ पनि राम्रो र स्वाद पनि मीठो भएको इमिलियाका उपभोक्ता पुनाराम अर्यालको भनाइ छ ।