कपिलवस्तु,
तत्कालिन उर्जा मन्त्री शक्ति बहादुर बस्नेतको पावर लगाएर इन्जिनियर गौरब पाण्डे दैलेखबाट तौलिहवा विद्युत प्राधिकरणमा आएदेखी सेवाग्राहीले सास्तै व्यहोर्दै आएका छन् । हाकिम बनेर आएका गौरब पाण्डेको रवाफी शैली र गैरजिम्मेवारी पनाले सेवाग्राही मात्र होइन कर्मचारीले समेत दुःख पाएको गुनासो बढ्दो छ । विद्युतको सहज आपूर्तीमा लापरवाही बढ्दो छ भने अर्को तर्फ इमान्दार दाबी गर्ने पाण्डेको आर्थिक अनियमितता पनि चुलिदो छ । २०७९ भदौमा जाजरकोटबाट तौलिहवा आएका गौरब पाण्डेको काँधमा ६६ हजार ग्राहक तथा ४ वटा सबस्टेशन र ३ वटा फ्युज सेवा व्यवस्थापनको जिम्मेवारी भएपनि उनी सधै गैरजिम्मेवार बने ।
सेवाग्राहीद्धारा प्रशासन घेराउ ः दैनिक विद्यतु आपूर्तिमा समस्याले आजित बनेका स्थानीयले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । १० देखि १२ घण्टा सम्म विद्युत आपूर्ती रोकिएपछि बाध्य भएर प्रशासन घेराउ गरिएको स्थानीय गोपीकृष्ण शर्माले बताए । अर्की सेवाग्राही सुस्मा आचार्यले आकाशमा बादल गर्जिदा मात्रै विद्युत जाने र आउने ठेगान नहुने बताइन् । “कार्यालय प्रमुखको फोन उठ्दैन, कर्मचारीले अनेक बहानामा जफाव दिन्छन,दिक्क भइयो” उनले भनिन् ।
फ्युज सेवा हटाएर फ्ल्याट भाडामा ः तौलिहवा स्थित कार्यालय भित्रै कार्यालय प्रमुख निवास हुदाहुदै पाण्डेले आफ्नो लागि ओदारीमा फ्ल्याट लिएका छन् । उक्त फ्ल्याट लिन उनले लबनी र गोरुसिंगेमा रहेको फ्यूज सेवा कार्यालय नै हटाइदिएका छन् । फ्यूज सेवा नहुदा बुद्धभूमीका सेवाग्राहीहरु घनचौरा तथा शुद्धोधन गाउँपालिकाबासी पकडी तथा तौलिहवा धाउन बाध्य छन् ।
फ्युज सेवाबाटै हाजिरी ः ६६ हजार सेवाग्राहीलाई सहज विद्युत आपूर्ती वितरणको जिम्मा लिएका पाण्डे कार्यालयमा भने १२ बजे यता आउदैनन् । उनले ई–हाजिरी मेशिनबाट ओदारी फ्यूज सेवा कार्यालयमै ल्याप्चे हाजिर लगाउने गरेका छन् । विभिन्न समस्या लिएर कार्यालय प्रमुख भेट्न आउने सेवाग्राहीहरु घण्टौ कुर्न बाध्य हुने गरेका छन् ।
प्रशारण लाईन विस्तारमा वेवास्ता ः तौलिहवा क्षेत्रको भोल्टेज सुधार तथा लबनी सब–स्टेशनको क्षमता विस्तार गर्न ३ बर्ष अघि सुरु गरिएको मोतिपुर–तौलिहवा प्रशारण लाईन निर्माण कार्य सम्पन्न गर्न समेत पाण्डेले तदारुकता देखाएका छैनन् । बुटवल प्रादेशिक कार्यालयबाट दबाब पश्चात बाँकी कामको टेन्डर गरे पनि टेन्डर नपरेपछि पुनः टेन्डर को कार्य उनले अघि बढाएका छैनन् । ३३ हजार भोल्टको उक्त प्रशारण लाईन कार्य रोकिएकै कारण तौलिहवा क्षेत्रमा विद्युत भोल्टेजको समस्या बढ्दै गएको प्राविधिकहरु बताउछन् ।
विद्युत आपूर्ती सुधारमा वेवास्ता ः स्थानीयको पटक पटकको गुनासो तथा डेलिगेशनले पनि तौलिहवा वितरण केन्द्रले विद्युत आपूर्तीमा सुधार ल्याएको छैन । कमसल उपकरणको प्रयोग, डिस इन्सुलेट, तार, पोल, पिन इन्सुलेटर, जस्ता विग्रेका सामाग्रीहरु मर्मत नगर्दा विद्यतु अवरुद्ध हुदै गएको छ । १ साता सम्म ३३ केभि प्रशारण लाईनको पोल भाचिदा समेत काम नगर्ने इन्जिनियर गौरब पाण्डेले आफुलाई राम्रो प्राविधिक दाबी गर्नु लज्जास्पद रहेको स्थानीयबासी मुकुन्द अधिकारी बताउछन् । सामाजिक संजालमा समेत विद्युत प्राधिकरण विरुद्ध गाली तथा गुनासोको बाढी नै आएको छ । सहज अवस्थामा समेत पटक पटक विद्युत अवरुद्ध गरिदिने, पानी पर्नसाथ लाइन जाने र हाकिमको सेवाग्राही संग बोल्ने शैली र काम प्रतिको वेवास्ताले समेत स्थानीयबासीहरु रुष्ट बन्दै गएका छन् ।