काठमाडौं । चालु आर्थिक वर्षमा विद्युतीय (इलेक्ट्रिक) सवारीको आयातको उच्च दरमा बढेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय सवारीको करमा व्यापक वृद्धि गरेपछि विद्युतीय सवारीको आयात प्रभावित भएको थियो । तर, चालु आर्थिक वर्षमा कर कम गरिएपछि समग्र अटोबजार नै पेट्रोलियम सवारीबाट बिजुलीबट चल्ने सवारीतर्फ मोडिन थालेको छ ।
महामारीपछि विद्युतीय सवारीको उत्पादन खस्किएका बेला नेपालमा माग अस्वाभाविक रुपमा बढ्दा आपूर्ति पनि प्रभावित भएको छ । नेपालमा विद्युतीय सवारीको आयात उच्च रुपमा बढ्दा समेत आपूर्तिकर्ताले माग थेग्न सकेका छैनन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा मात्रै ११ सय ३ वटा विद्युतीय कार/जिप भ्यान आयात भएको छ । जबकी गत सिंगो आर्थिक वर्ष २०७७/७८ मा २६१ वटा विद्युतीय कार/जिप भ्यान आयात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन, भदौ र असोज, कात्तिक मंसिर र पुस)मा १०० किलोवाटसम्मका ३९६ वटा सवारी नेपाल भित्रिएको थियो ।
१०० भन्दा ठूलो तर १५० किलोवाटसम्मका १३ वटा विद्युतीय चारपांग्रे सवारी आयात भएको छ । १५० किलोवाटभन्दा माथि २०० किलोवाटसम्मका ६९२ वटा विद्युतीय कार जिप र भ्यान आयात भइसकेको छ । ३ सय किलमेवाटभन्दा धेरैका २ वटा सवारी नेपाल भित्रिएको छ । ६ महिनमा करिब ३ अर्ब २४ करोड रुपैयाँ मूल्य बराबरको विद्युतीय सवारी आयात भएको छ ।
नाडा अटोमोबिल्स एशोसिएसन अफ नेपालका अनुसार यो वर्ष बजेटमा कर पुनरावलोकन भएकाले विद्युतीय सवारीको माग हृवात्तै बढेको छ । कतिपय कम्पनीलाई मागअनुसार आपूर्ति धान्न पनि कठिन भएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापा कर सहुलियत, सहज बैंकिङ सुविधा, पेट्रोल डिजेलको मूल्यमा भइरहेको वृद्धि, वातावरणप्रतिको बढ्दो सचेतना र इलेक्ट्रिक सवारी प्रयोगको विश्वव्यापी ट्रेन्ड लगायतका कारण विद्युतीय सवारीमा आकर्षण बढेको बताउँछन् ।
‘विद्युतीय सवारी विदेशमा नै पेट्रोल-डिजेलबाट चल्ने सवारी भन्दा महँगो छ, तर सवारीमा २४० प्रतिशतसम्म कर लगाइएकाले पेट्रोलियम सवारी पनि महँगो छ, विद्युतीय सवारीमा ८० प्रतिशतसम्म मात्रै कर लगाइएकाले दुबैको मूल्यको रेन्ज उस्तै बनेको छ,’ उनी भन्छन्,’यति मात्रै नभएर वातावरणमैत्री पनि हुने भएकाले धेरैले विद्युतीय सवारीमा जान इच्छा देखाएका छन् ।’
महिनौंसम्म इलेक्ट्रिकको प्रतिक्षा
तर, उत्पादन नै कम भएकाले मागअनुसार विद्युतीय सवारीको आपूर्ति हुन नसकेको नाडाका अध्यक्षा थापाको भनाइ छ ।
कार उत्पादक कम्पनीहरुले मागअनुसार आपूर्ति दिन नसक्दा वितरक कम्पनीले विद्युतीय सवारीका धेरै ग्राहकलाई कुराइरहनु परेको हो । अन्तर्राष्ट्रिय बजारमा विद्युतीय चिप्स र सेमी कन्डक्टरको अभाव भएपछि विद्युतीय सवारीको उत्पादन प्रभावित छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका अनुसार अहिले विद्युतीय सवारीको मागअनुसार आपूर्ति गर्न हम्मे छ । कम्पनीले बिक्री गरिरहेको ‘नेक्सन ईभी’ को करिब ६ सय बुकिङ आएपनि अहिलेसम्म साढे २ सय मात्रै आपूर्ति हुन सकेको कम्पनी स्रोतले बताएको छ । विद्युतीय सवारी बुकिङ गर्ने ग्राहकलाई ६-७ महिनासम्म कुर्नुपर्ने अवस्था छ ।
सरकारले लिएको नयाँ कर नीति र इलेक्ट्रिक प्रोडक्टले नेपाली बजारमा निकै राम्रो प्रभाव छाड्दा छोड्दै पनि मागअनुसार आपूर्ति गर्न नसक्दा दुःख लागेको कम्पाीका एक कर्मचारीले बताए ।
अभाव चर्किएपछि कतिपय कम्पनीले विद्युतीय चिप्समा आधारित ‘अटोमेटिक’ फिचरहरुको साटो ‘मेनुअल’ फिचर राखेर विद्युतीय सवारी बेच्न थालेका छन् ।
२०७८ माघ ११, मंगलवार १४:२८
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech