चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमु्ख प्रशासकीय अधिकृत बस्ने कक्षको एसी बिग्रेको थियो । अर्थात् एसीले तातो हावा फालेको थिएन । माघ १० गतेका दिन दिउसो १२ बजेको समयमा सो एसी जोड्ने प्राविधिक भुक्तानीको लागि भन्दै कार्यकारी बस्ने कक्षमा पुगे । त्यहाँ नगरमा भर्खरै सरुवा भई आउनु भएका कार्यकारी टेकराज पन्थी हुनुहुन्थ्यो । सोही क्रममा यस्तो कुराकानी भयो
प्राविधिकः सर म आउन सक्छु ?
पन्थीः आउनुहोस् । ल भन्नुहोस् तपाई किन आउनु भएको ?
प्राविधिकः सर, एसी जडानको भुक्तानी लिन ।
पन्थीः कुन एसीको ?
प्राविधकः उ… त्यो एसीको (एसी देखाउँदै)
पन्थीः ‘खै यो एसीले तातो हावा फाल्दैन त ? यो बिग्रेको छ । (भुक्तानीको कागजात हेर्दैं) प्राविधिकः बिग्रेको छैन । भुक्तानी दिइहाल्नुहोस् न
पन्थीः हावा नै दिँदैन त (रिमोर्टले बटम थिच्दै) । पहिला यो बिग्रेको एसी बनाउनुहोस् अनि बल्ल भुक्तानी दिउँला ।
प्राविधिकः हैन हैन सर, बनिहाल्छ तोक लगाइदिनुहोस् न ।
पन्थीः पहिला यो बनाइहाल्नुहोस् त्यसपछि एक सेकेण्ड पनि भुक्तानी रोकिन्न (अलिकति आक्रोशित मुद्रामा)
त्यसपछि प्राविधि फरक्क फर्केर गए । अनि केही समयपछि त्यहीँ आए र एसी बनाए । कोठामा तातो हावा आइहाल्यो । पन्थीले तुरुन्तै भुक्तानीको लागि तोक लगाइ दिए । प्राविधिक हाँस्दै फर्किए । कोठामा कार्यकारीलाई भेट्न बसेका करिब आधा दर्जन यस क्षेत्रका विशिष्ट व्यक्तिले एसी साँच्चिकै बिग्रेको पाए र कार्यकारीलाई धन्यबाद दिए । हाँस्दै बसे । एसी साँच्चिकै बिग्रेको थियो ।
त्यही दिन केही पत्रकार पनि उहाँको कार्यकक्षमा थिए । त्यहाँ पनि उहाँले पत्रकारिताबारे राम्रै कक्षा दिनुभयो । पत्रकारिता, पत्रकार, संचारकर्मी, अनलाइनबारे पढाउन गएका पत्रकारलाई प्रमुख प्रशासकीय अधिकृत पन्थीले उल्टै पढाउनु भयो । अर्थात् पन्थीले पित पत्रकारिता गर्ने, अनावश्यक लेख्ने, धम्क्याउने, थर्काउने, समाजलाई बिगार्ने पत्रकारको विगविगी जताततै रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको सुनाउनु भयो । त्यही क्रममा उहाँले एउटा पालिकामा आफू प्रशासकीय अधिकृत हुँदा अनुमतिविना फोटो खिच्ने टिभी जर्नलिस्टको क्यामेरा थुतेको पनि सुनाउनु भयो ।
रुपन्देहीको सैनामैना नगरपालिकामा २६ महिने कार्यकाल सफल बनाएर बाणगंगामा भर्खरै आउनु भएका कार्यकारी पन्थीका यी कुराले नगरको विकासमा केही आशा जागेको छ । अर्थात् उहाँ पाका, स्पष्ट, काम गर्ने, पारदर्शी, पढेलेखेको, कानुनको जानकार र खरो स्वभावका हुनुहुन्छ कि भन्ने बुझाउँछ ।
यत्ति मात्र होइन पन्थीले बाणगंगा आउने वित्तिकै यहाँका विकास आयोजनाको निर्माण र पारदर्शिताबारे धमाधम अनुगमन गरेको समेत सुनाउँदै अब सबै मिलेर केही गर्नु पर्ने सुनाउनु भयो । नगरमा सर्रर भ्रमण गर्दा धमाधम घर बनेका तर घर नक्साबाट भनेजति राजश्व असुली गर्न नगर असफल भएको आफूले पाएको बताउनु भयो । कुराकानीकै शिलशिलामा पन्थीले नक्सा पास नगरी बन्दै गरेको एउटा घरको मालिकलाई त पास विना घरको निर्माण काम अगाडी बढाए पुलिसको सहायतामा डोजरले भत्काइदिने समेत चेतावनी दिई फर्केको सुनाउनु भयो ।
उहाँको यो कार्यशैली प्रत्यक्ष देख्नु भएका नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई र पत्रकार दीपक अनुरागीले नगरमा भएका अनियमितता र ढिलासुस्तिमा ब्रेक लाग्ने आशा ब्यक्त गर्नुभयो । अहिलेसम्म बाणगंगामा प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने रोग लागेको छ । यहाँ तिनतिन महिनामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा कार्यालय ब्यवस्थापन, सेवा प्रवाह, योजना स्विकृति, फस्र्यौट, भुक्तानी आदिमा ठुलो समस्या छ । यसअघि सिडिओ र एलडिओ भई लामो प्रशासनिक अनुभव लिनु भएका पन्थीले अहिलेसम्म मुलुकका ४७ प्रशासनिक कार्यालयमा काम गरिसकेको मायादेवीसंग बताउनु भयो ।
आफू नेपाल सरकारको कानुनको पालक भएको हुँदा कानुनले बन्देज गरेका र नमिल्ने काममा कहिल्यै हात नसार्ने बताउनु भयो । सैनामैना नगरपालिकाको अपत्यारिलो विकासका २६ मसिहना जनताको सेवामै विताएको हुँदा त्यस्तै काम गर्ने जाँगर बाणगंगामा पनि रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘बाणगंगा मुलुककै चर्चित पालिका हो । यहाँ प्रशस्त श्रोत र साधन पनि छ । हरेक हिसाबले यहाँ धेरै गर्न सकिन्थ्यो तर भनेजति विकास हुन नपाएको मैले पनि अनुभुति गरेको छ । जति समय रहन्छु । हेरौँ राम्रो नतिजा दिने गरी काम गर्दछु । यसको लागि जनप्रतिनिधि र यहाँको सरोकारवालाको साथ चाहिन्छ ।’
आफू अहिले बाणगंगाको मुख्यसचिव रहेको हुँदा कर्मचारीबाट काममा हुने ढिलासुस्ती, अनियमितता मान्य नहुने उहाँले बताउनु भयो । पन्थी सैनामैना नगरपालिकामा ५ मिनेट पनि सेवाग्राहीको फाइल रोकेर नराख्ने गरी काम गर्ने प्रशासकको रुपमा मुलुकभरी चिनिनु भएका प्रशासक हुनुहुन्छ । उहाँले सेवाग्राहीलाई अनावश्यक रुपमा दुख दिने र कार्यालयमै दिनभरी भुलाउने खालको कर्मचारी संस्कारको विरोधी रहेको बताउनु भयो । नगर विकासमा स्पष्ट भिजन हुनुपर्ने भन्दै सकेसम्म टिकेर विकासको नयाँ अवधारणामा बाणगंगालाई लैजान आफूले मिहिनेत गर्ने पन्थीको भनाई छ ।
धेरै ठाउँमा काम नगरी कागजात मिलानको आधारमा भुक्तानी दिने समस्या भएको भन्दै योजनाको अनुगमन मुल्यांकन र मापदण्ड अनुसार भए नभएको हेरेर मात्र आफूले भुक्तानी दिने पनि मायादेवीसंग बताउनु भयो ।
उहाँले जनप्रतिनिधि विकास प्रेमी र पारदर्शी हुने हो भने नगरबासीलाई नतिजा दिनमा कुनै समस्या नहुने बताउनु भयो । सैनमैनाका नगर प्रमुख र आफ्नो राम्रो सम्बन्धले नै चक्रपथ बनेको, डम्पिङ साइट बनेको, खेल रंगशाला बनेको, शिक्षामा आमुल परिवर्तन भएको सुनाउनु भयो । बदमासी र चलखेल गर्न खोज्ने जनप्रतिनिधिलाई पनि आफ्नो क्षेत्राधिकारबाट अंकुस लगाउने उहाँको भनाई छ । नगरविकासमा आम नागरिक, उद्योग बाणिज्य संघ पत्रकार लगायतको सहयोग भएमा यहाँ धेरै गर्न सकिने सम्भावना रहेको बताउँदै सहयोग गर्न उहाँको सबैमा आग्रह छ ।
प्रमुख प्रशासकीय अधिकृतको चाँडो सरुवाले नगरको समग्र क्षेत्रमा धेरै असर गर्ने भन्दै कम्तिमा पनि नतिजा दिन २ बर्ष चाहिने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘सकेसम्म सरुवा हुन नपरोस् । मेरो ब्यक्तिगत इन्ट्रेस्टले जान्नँ । हाकिम नटिक्ने यहाँको के समस्या रहेछ त्यो पनि बुझौँला ।’
उहाँले बदमासी, अनावश्यक भनसुन, मिलिमतो आफूसंग नचल्ने भन्दै त्यस्तो ध्येयले आफ्नो कार्यकक्षमा प्रवेश नगर्न पनि चेतावनी दिनुभएको छ । सुरुमा जसले पनि केही गर्ने जस्तो गरे पनि पछि उनीहरुको असली हैसियत पछि थाहा हुने जानकारहरु बताउँछन् । कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले पन्थीको बारेमा आफूले पनि राम्रै सुनेको भन्दै अहिल्यै उहाँको मुल्यांकन गर्न आफू नहतारिने बताउनु भयो ।
यसअघि यहाँ रहेका कार्यकारी बासुदेव खनाल करिब ४ महिनामै सरुवा भएका थिए भने यसअघिका अरु कार्यकारीहरु पनि लामो समय टिक्नै सकेनन् । बाणगंगामा हाकिम टिक्न नसक्नुको पछाडी बाणगंगा खोलाको ठेक्कापट्टा प्रमुख कारक रहेको बताइन्छ भने सहायक कारकका रुपमा यहाँका केही जनप्रतिनिधिहरुको मिलिभगत, केही पुराना कर्मचारीको दम्भी प्रवृत्ति पनि रहेको बुझिन्छ ।
यता नगर प्रमुख मंगल थारु र उपप्रमुख चक्र अर्यालले भने हाकिम सरुवाको कारण जनप्रतिनिधि र कर्मचारी भएको स्विकार्दैनन् । ‘आजसम्म जति हाकिम टिक्न सकेनन् । यो उहाँहरुकै कारण हो । आफ्नै इन्ट्रेस्टले उहाँहरु सरुवा हुनुभएको छ, नगरप्रमुख मंगल प्रसाद थारुले भन्नुभयो ।’ कार्यकारी सरुवाको प्रश्नमा उपप्रमुख चक्र अर्यालले भन्ने लाइन यही हो ‘आफूहरुसंग डटेर काम गर्न नसक्दा हाकिम सरुवा हुन्छन् ।’
नगरभित्रकै केही अनुभवी कर्मचारीले भने नगरमा जनप्रतिनिधि र कर्मचारीबीच सुरुदेखि नै केही न केही नमिलेको बताउँछन् । चाँडो चाँडो हाकिम सरुवाको रोगले सेवाग्राही पनि चरम मारमा छन् भने यहाँका विकासका काममा पनि ठुलो समस्या भएको छ । यो रोगले सरोकारवाला, संचारकर्मी पनि आश्चर्यमा छन् ।