जनकपुरधाम । हिजो–आज मधेशमा अकस्मात् नारा, जुलूस हुन्छ, तोडफोड गरिन्छ र आगजनी गराइन्छ । १२ माघ बिहान १० बजेतिर पनि त्यस्तै भयो । जनमत पार्टीका १०० जना जति कार्यकर्ता हातमा बाँसका भाटा लिएर नाराबाजी गर्दै जनकपुरधामस्थित तिरहुतिया गाछीनिर पुगे । राष्ट्रिय सभाको निर्वाचन भइरहेको महेन्द्रनारायण निधि भवनतर्फ उनीहरू मोडिन खोजेपछि प्रहरीले रोक्यो । नमानेपछि प्रहरीले लाठीचार्ज गर्दै अश्रुग्याँस प्रहार गर्यो । १० मिनेटपछि त्यो ठाउँ शान्त भयो ।
यसरी शान्त भएको आधा घण्टा नबित्दै राम चोकतर्फबाट आएको जनमत पार्टीको भीड पुनः तिरहुतिया गाछी हुँदै निर्वाचनस्थलतर्फ जान खोजेपछि फेरि झडप भयो । त्यो ठाउँमा लगातार तीन पटक झडप भयो । तीनै पटक प्रहरीले अश्रुग्याँस प्रहार गर्यो । त्यहाँ जनमत पार्टीका कार्यकर्ताले प्रहरीले फ्याँकेको अश्रुग्याँसको सेल प्रहरीतिरै फालेका थिए भने प्रहरीले लाठी प्रहार गर्दा आफूहरूले बोकेको बाँसको भाटाले रोक्न खोजेका थिए ।
अरू दिन जस्तै यस दिन पनि आफ्नो प्रदर्शनबारे जनमत पार्टीले पूर्व सूचना दिएको थिएन । एक्कासी लाठी, भाटा सहित निस्किएका यो पार्टीका कार्यकर्ताले आठ जना जनप्रतिनिधिको गाडी तोडफोड गरे । गाडीमा प्रहार गर्दा जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सांसद अशोक यादवको हातमा चोट लाग्यो । सर्लाहीको हरिऔन नगरपालिकाका मेयर गणेश प्रसाईंको टाउकोमा पनि चोट लाग्यो ।
जनमत पार्टीका कार्यकर्ताले सोही दिन जलेश्वर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सतिश साह चढेको गाडी तोडफोड गर्दै उनीमाथि पनि आक्रमण गरे । बर्दिवासतर्फ जाँदै गर्दा जनकपुरधामको पिडारी चोकमा गरिएको आक्रमणबाट घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लगाउनुपरेको छ । त्यसबेला प्रहरीको लाठी प्रहारबाट जनमत पार्टीका केही कार्यकर्ता पनि घाइते भएका थिए ।
२०७८ माघ १८, मंगलवार १२:५६
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech