२०८२ मंसिर १६, मंगलवार १७:३१

कपिलवस्तु ।
राष्ट्रिय सभाकी उपाध्यक्ष बिमला घिमिरेले विद्यालय तथा क्याम्पसहरुले समाज र राष्ट्र प्रति इमान्दार र बाफादार विद्यार्थी उत्पादन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज मंगलबार सिद्धार्थ क्याम्पस बुङ्चि, कपिलवस्तुको १५औँ क्याम्पस सभामा बोल्दै उहाँले विद्यार्थीको सङ्ख्यामा भन्दा पनि शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

क्याम्पसको विकासको लागि आफुले विगतदेखी नै निरन्तर सहयोग गरेको भन्दै त्यसलाई आफू जुन ठाउमा रहेपनी निरन्तरता दिने बताउनुभयो । क्याम्पसमा अन्य विषय ल्याउन मात्र नभएर केन्द्र बाट बजेट ल्याउन पनि आवश्यक जग्गा विवादले समस्या निम्त्याएको बताउनुभयो । देश नै अफ्ठ्यारो परिस्थितिमा परेको भन्दै हामीले कस्ता विद्यार्थी उत्पादन गरिरहेका छौ भन्ने तर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले प्रतिस्पर्धात्मक समयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकेनौं भने क्याम्पसको उचाई खस्किनेमा दुई मत नरहेको भन्दै क्याम्पस परिवारले शैक्षिक गुणस्तर वृद्धि गर्नमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख चौधरीले बाणगङ्गा नगरपालिकाले क्याम्पसको भौतिक पुर्वाधार निर्माण देखि हरेक क्षेत्रमा सहयोग गरेको भन्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख बेदराम अर्यालले क्याम्पसको शैक्षिक प्रगति सङ्गै आगामी वर्षको लागि विभिन्न योजनाहरु प्रस्तुत गर्नुभएको थियो । त्यस्तै क्याम्पस प्रमुख अर्यालले क्याम्पसको स्थापना देखि हाल सम्मका गतिविधिलाई छोटकरीमा प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै क्याम्पस सञ्चालक समिति अध्यक्ष डम्बर शर्माले सभामा उठेका प्रश्न तथा गुनासाहरुको सम्बोधन गर्दै सबैको सहयोग बाट मात्र क्याम्पसको उचाईलाई माथि पुर्यान सकिने बताउनुभयो । सिद्धार्थ क्याम्पस र यस बाट प्रदान भैरहेको शैक्षिक गुणस्तरलाई वृद्धि गर्न आफुहरु लागि परेको उहाँले बताउनुभयो ।

पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले बोल्दै सिद्धार्थ क्याम्पसले नेपाल प्रथम सहितको नतिजा ल्याउन सफल भएको भन्दै अहिले उच्च शिक्षाको लागि जिल्ला बाहिर पठाउनुपर्ने आवश्यक नरहेको बताउनुभयो । पछिल्लो समय प्लस टु पछि विदेशीने लहर चलेको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।

आर्थिक प्रगति प्रतिवेदन गणेश बहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तौ कार्यक्रममा क्याम्पसका सहायक प्राध्यापक तथा पुर्व विद्यार्थी समाज अध्यक्ष गोबिन्द पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम क्याम्पस सञ्चालक समिती अध्यक्ष डम्बर प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागत तथा उप–प्राध्यापक कुलराज भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय