कपिलवस्तु ।
बाणगंगा नगरपालिका–१, ३, ४ र ५ मा फैलिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १४औँ साधारण सभा बुधबार सम्पन्न भएको छ । बाणगंगा नगरपालिका–४ स्थित श्रीपेच होटलमा सम्पन्न सभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ९ करोड ८४ लाख ९८ हजार ५ सय ९४ रुपैयाँको बजेट विभिन्न शीर्षकमा पारित गरेको छ । सभालाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले वन संरक्षण, व्यवस्थापन र उपयोगमा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । वन ऐन २०७६ तथा स्थानीय सरकार सञ्चालन ऐनले समेत वन क्षेत्रसँग स्थानीय तहको सहकार्यलाई जोड दिएको उहाँको भनाइ थियो । वन संरक्षणसँगै वनजन्य उत्पादनको बिक्रीबाट प्राप्त स्रोतलाई संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापनमा लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । साथै, वनलाई सामाजिक विकास, उद्यमशीलता र गरिबी निवारणसँग जोडेर अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।




यस्तै, श्रृङ्गीघाट सामुदायिक वनका अध्यक्ष गणेशबहादुर सिंह ठकुरी सुशीलले सामुदायिक वनलाई वर्तमान अवस्थामा ल्याउन राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, संघसंस्था, कार्यसमिति, जिल्ला समितिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

अध्यक्ष ठकुरीले आगामी दिनमा पनि वन संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितमा काम गर्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा श्रृङ्गीघाट सामुदायिक वनकी सचिव सुस्मा खाँण, कोषाध्यक्ष बिना राना, लेखा संयोजक गुरुदेव पौडेल, डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटा, संस्थापक अध्यक्ष तथा वैज्ञानिक वन व्यवस्थापन केन्द्रीय अध्यक्ष रेनु सेन, मोतिपुर सब–डिभिजन वन कार्यालयका एहजाद अहमद अन्सारी, विभिन्न वडाका वडाध्यक्ष, वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेशका अध्यक्ष दीपक थापा, सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, जिल्ला अध्यक्ष ज्यालाल गिरी लगायत विभिन्न सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला तथा सञ्चारकर्मीको सहभागिता थियो ।







