२०७८ माघ २९, शनिबार १४:३५

काठमाण्डाै – सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने भएको छ । आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज खाेप दिने बताउनुभएको हो । २०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खाेप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेदेखि दोस्रो डोज खाेप लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो । मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका झन्डै ३४ लाख बालबालिकालाई खोप दिने काम सुरु गरिएको जानकारी दिनुभयो । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा अहिले सबै गर्भवती महिलालाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो ।              ठूला अस्पतालमा र जनघनत्व बढी भएका सहरका विभिन्न सार्वजनिक ठाउँमा खोप केन्द्र निर्धारण गरेर दैनिक रूपमा खोप प्रदान भइरहेको तथा दैनिक आवतजावत गर्ने ठाउँहरू जस्तै:– बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रवेश नाकाहरूमा यात्रुलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड–१९ विरुद्धको खोप अनिवार्य रूपमा लिनुपर्ने कानुनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय