२०७८ फाल्गुन ५, बिहीबार १३:०६

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेष्डो समृद्ध लघुवित्तले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा गत वर्षको भन्दा १८.८७% ले थोरै हो । गत वर्ष यसले १३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घट्दा त्यसको प्रत्यक्ष असर नाफामा परेको छ । यसको खुद ब्याज आम्दानी १९.०९% ले घटेर १८ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा यसले २३ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यस्तै, यसको सञ्चालन नाफा पनि २१ करोड रुपैयाँबाट घटेर १७ करोड ४ लाख रुपैयाँमा झरेको छ ।

हाल यसको चुक्ता पुँजी १७ करोड २१ लख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५४ करोड रुपैयाँ रहेको छ । कम्पनी फागुन ११ गतेबाट आइपीओ बिक्री खुला गर्दैछ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय