काठमाडौँ, १३ फागुन । एमसीसी अनुमोदनका लागि प्रयासरत प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि छलफल हुँदै छ । एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङका अनुसार आज पनि दुई पक्षबीच छलफल हुने तय भएको हो ।
प्रधानमन्त्री देउवाले हिजो एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीलगायत एमालेका नेतासँग छलफल गर्नुभएको थियो । त्यसपछि पुनः राति पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमालेबीच वार्ता भएको थियो ।
सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा साथ नदिँदा प्रधानमन्त्री देउवाले प्रमुख विपक्षी दलको विकल्प खोज्नुभएको हो । तर एमालेले कांग्रेससँगको सहकार्यका लागि माधव नेपाललगायत आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, भनए सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने सर्त अघि सारेको छ ।
माग पूरा नभएसम्म कांग्रेससँग सहकार्य पनि हुन नसक्ने र संसद अवरोध पनि जारी राख्ने एमाले नेताहरुले स्पष्ट पारेका छन् ।