काठमाडौं ४ चैत – रंगहरुको पर्व फागु अर्थात होली आज तराई र मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । बिहिबार काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा फागु मनाइएको थियो ।
आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ ।
दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशीयालीमा होली मनाउने गरिन्छ ।
होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने गर्दछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।
होलीका अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ ।