२०७८ चैत्र २९, मंगलवार १२:५८

गुल्मी, २९ चैत्र । गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको हो ।

तीनमुखे पुलले गुल्मीको रुरु छेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्नेछ ।

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पुलको स्तम्भ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । अहिले पुलको दुईतिर जाली, सोलार र भर्याङ निर्माणको काम भइरहेको छ । चार धाममध्येको एक रुरुमा तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

कालीगण्डकी नदीमाथि पुल निर्माणपछि पुल हेर्नकै लागि आन्तरिक पर्यटकको चहलपहल बढ्ने स्थानीय बासिन्दा विष्णु परियारले बताउनुभयो । अबको एक महिनाभित्र पुलको काम सक्ने लक्ष्य रहेको निर्माण व्यवसायी सुशान्त यादवले बताउनुभयो ।

झन्डै नौ करोड ८८ लाख लागतमा नयाँ बाटो रुविना मना जेभीले पुलको ठेक्का सम्झौता गरेको थियो । २०७१ मंसिरदेखि पुल निमार्णको काम थालिएको थियो । बर्खामा कालीगण्डकी नदीमा आउने बाढी तथा कोरोना महामारी र आर्थिक अभावले समयमै काम सक्न नसकेको निर्माण व्यवसायी यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय