कपिलवस्तु- कपिलवस्तु नगरपालिका ८ मा निर्माण भएको दोहनी सिंचाई आयोजना संचालनमा आएको छ । पूर्व सिंचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले सोमबार एक कार्यक्रमबीच सिंचाई योजनाको उद्घाटन गरेका हुन् ।
सो क्रममा मन्त्री आचार्यले आफूले सिलन्यास गरेको योजना उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गर्दै यस क्षेत्रका किसानहरुको कृषि उत्पादन वृद्धि हुनेमा विश्वस्त रहेको बताए । साथै जिल्लाका अन्य स्थानमा पनि यस्ता योजनाले निरन्तरता पाएको बताए ।
२०७४ सालबाट निर्माण शुरु गरिएको योजनाको सबै काम सम्पन्न गरिएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुरुषोत्तम उपाध्यायले बताए ।
७ करोड २० लाख ९६ हजार ३ सय ३४ रुपैयाँ लागतमा बाबुल राजन जेभी निर्माण सेवा रुपन्देहीले ठेक्कामार्फत योजना सम्पन्न गरिएको हो ।
योजनाबाट ७ सय हेक्टर खेतियोग्य जमीन सिंचाई हुने समेत प्रमुख उपाध्ययाले बताए । योजनाबा६ कपिलवस्तु नगरपालिकाका वडा नं ७ र ८ का किसानहरु लाभान्वित भएको वडा नं ८ का अध्यक्ष शिवकुमार पाण्डेयले बताए ।
कार्यक्रममा वडा नं ३ का अध्यक्ष प्रकाश गैरे, किसान संघका जिल्ला अध्यक्ष चर्तुभुजमणी त्रिपाठी, दुर्गेश पाण्डेय लगायतले योजनाको रेखदेख र सही सदूपयोग गर्नको लागि शुभकामना दिएका थिए ।