२०७९ असार १८, शनिबार १७:४४

काठमाडौं, १८ असार ।

पेट्रोलियम पदार्थको लागत मुल्य घटाउन सरकारीस्तरबाटै भारतसँग वार्ता गरिने भएको छ। अहिले भारतले रसियाबाट सस्तोमा तेल किनेकाले हामीलाई दिने लागत मूल्य घटाउन प्रधानमन्त्रीस्तरबाटै भारतीय सरकारसँग फलफल गरिने भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

‘भारतले रसियाबाट किन्ने तेलको परिमाण बढिरहेको छ, भाउ पनि कम छ। त्यसैले हामीलाई प्रतिलिटर दस रूपैयाँ घटाउन सरकारले आग्रह गर्ने भएको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।

अर्थ मन्त्रालयले बिटुबी (व्यावसायिक) स्तरबाट पनि तेलको मूल्य घटाउन भारतीय आयल कर्पोरेसन (आइओसी) लाई आग्रह गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।
आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार आयातित तेलको लागत मूल्य घटाउन बिटुबीबाट भन्दा पनि सरकारीस्तरबाटै पहल भए सहज हुन्छ।

‘भारतबाट तेल ल्याउन सरकारीस्तरबाटै सम्झौता हुने हो। हामीले भर्खरै पाँच वर्षका लागि आइओसीसँग सम्झौता गरेका छौं,’ उनले भने, ‘सुरूमा हामीले भन्दा पनि सरकारी तवरबाटै आग्रह गर्दा उपयुक्त हुन्थ्यो।’

पहिलो चरणमा सरकारीस्तरबाट तेलको लागत मूल्य घटाउने विषयमा कुरा भएपछि निगमलाई आइओसीसँग कुरा गर्न सहज हुने उनले बताए। जिटुजी (सरकारस्तरीय) एक चरण कुरा भए हामी पछि थप कुरा गर्थ्यौं, उनले भने।

पछिल्लो तथ्यांकअनुसार हाल भारतले आयात गर्ने कुल पेट्रोलियम पदार्थमध्ये रसियाबाट मात्रै १० प्रतिशत बराबर आयात हुन्छ। यसरी रसियाबाट आउनेमध्ये ४० प्रतिशत कच्चा तेल भारतीय निजी रिफाइनर्सले प्रयोग गरिरहेका छन्। गत मे महिनामा मात्रै भारतमा रसियाबाट करिब दुई करोड ५० लाख ब्यारेल तेल आयात भएको देखिन्छ।

भारतीय सञ्चार माध्यम बिजनेश स्ट्यान्डर्डले प्रकाशित गरेको समाचारअनुसार रसियन तेलले भातरमा हुने आयातको लगभग २१ प्रतिशत हिस्सा ओगट्ने क्रममा रहेको उल्लेख छ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य एक सय १६ डलर पुगेको छ। यसअनुसार प्रति लिटर कच्चा तेलको मूल्य ०.७२ डलर हुन्छ।

हालको विनिमयदर अनुसार प्रतिलिटर कच्चा तेलको मूल्य ९२ रूपैयाँ पर्ने देखिन्छ। अहिले विश्वका धेरैजसो मुलुकमा रहेका रिफाइनरीहरूले कच्चा तेल प्रशोधन गरेर तयार गर्न लाग्ने लागत वृद्धि गरेर प्रतिब्यारेल ३० देखि ५० डलर पुर्‍याएका छन्। यही कारण तेल थप महँगिएको छ।

रसियाले भने केही समय अघिदेखि विश्वमा चलेको मूल्यभन्दा ३२ प्रतिशतसम्म मूल्य घटाएर बिक्री गरिरहेको छ। त्यसैले भारतीय सरकारसँग नेपालले प्रतिलिटर १० रूपैयाँसम्म लागत घटाइदिन आग्रह गर्न लागेको स्रोतले बताएको छ। नेपालले यस्तो तयारी गरिरहँदा भारतले भने शुक्रबार निर्यात गरिने पेट्रोलमा ६ भारू र डिजेलमा १३ भारू प्रतिलिटर कर बढाएको भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ। ( साभार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय