
काठमाडौं-उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहरलाई मल बनाउने विषयमा चासो देखाएको छ । आज शुक्रवार समितिले सांसदहरूलाई भक्तपुर नगरपालिकाले फोहरलाई व्यवस्थापन गरी प्राङ्गारिक मल बनाएको विषयमा बैठकमा जानकारी दिएको हो ।
समितिको बैठकमा सांसदहरूले भक्तपुर नगरपालिकाले फोहरबाट प्राङ्गारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिएका हुन् । भक्तपुरमा फोहरबाट कसरी, कुन प्रविधिबाट बनाएर मल बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराउनुभएको थियो । निर्देशक गिरीले भक्तपुर नगरपालिकाले चार वर्षदेखि रिकिसी कम्पोस्ट प्रालिको प्राविधिक सहयोगमा कुहिने फोहरबाट गन्धरहित मल बनाइरहेको बताउनुभयो । उहाँले कुहिने फोहर सङ्कलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानकै ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाउने जानकारी दिनुभयो ।