२०७९ श्रावण ७, शनिबार २१:१८

बुटवल —
लुम्बिनी प्रदेश सरकारले स्थापनादेखि नै धेरै बजेट सडक निर्माणमा खर्च गरेको छ । सडकमा खर्चेको बजेटअनुसारको प्रतिफल भने देखिएको छैन । बजेटमा प्राथमिकता दिएर सडक निर्माण थाले पनि तिनलाई निरन्तरता दिने र सम्पन्न गर्ने काममा ध्यान नपुग्दा प्रतिफल नदेखिएको हो ।

यही कारण प्रदेश सरकारले निर्माण थालेका र जिम्मा लिएका धेरै सडक अलपत्र छन् । ‘स्थानीय तह पहुँच मार्ग’ त्यसैमध्येको एक हो । प्रदेश सरकार स्थापना हुँदा लुम्बिनीका १ सय ९ पालिकामध्ये ३० वटाको मुकाम जिल्ला तहको सडक क्षेत्रभन्दा बाहिर थिए । प्रदेश सरकारले स्थापनाकै वर्ष ०७४÷०७५ देखि स्थानीय तहका मुकामलाई सडक सञ्जालमा जोड्न भन्दै ‘पहुँच मार्ग’का नाममा बजेट विनियोजन गरेको थियो । चालु आवसम्म बर्सेनि करिब ३० करोड बजेट विनियोजन भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सबै पहुँच मार्गको प्रारम्भिक अध्ययन पनि गरेको छ । तर, चार वर्षमा नौवटा मात्रै सडकको निर्माण सकिएको छ । तीन वटामा काम हुँदैछ । १८ वटा पालिका जोड्ने सडक सुरु नै भएका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले धेरै लम्बाइका र सडकसँगै अरू पूर्वाधार निर्माण गर्नुपर्ने काम नथालिएको बताए । मन्त्रालयका अनुसार दूरीका हिसाबले सबैभन्दा टाढा रोल्पाको सुनछहारी गाउँपालिका जिल्ला तहको सडक सञ्जालभन्दा ३० किलोमिटर दूरीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय