बाँके,
बिहान सवा १० बजेसम्म कार्यालयमा सेवाग्राही खचाखच भरिए पनि कर्मचारीहरु नआएको देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका ले विहीबार कर्मचारीको हाजिरी छड्के गरेको छ । हाजिरी छड्के गर्दा एकै दिन ३२ कर्मचारी अनुपस्थित रहेको देखिएको छ ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले विहीबार उपमहानगरपालिका कार्यालयमा कर्मचारीको हाजिरी छड्के अनूगमन गर्दा एकसाथ ३२ जना कर्मचारीले हाजिरी नगरेको पाइएको छ । नगर प्रमुख विष्टका अनुसार विहान १०ः२० बजे हाजिरी छडके गर्दा १२ जना अधिकृत स्तरका कर्मचारी पनि अनुपस्थित रहेको पाइएको हो ।
यसैगरी पाँचौ तहका ७ जना र करारका १३ जना कर्मचारी पनि अनुपस्थित रहेको पाइएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले विहीबार आकस्मिक रुपमा कर्मचारीको हाजिरी अनूगमन गरेको हो ।