२०७९ श्रावण २४, मंगलवार १७:२२

साउन २४,
नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले आज मङ्गलवार काठमाण्डौको कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो ।

संविधान र कानुनी व्यवस्थाअनुसार आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिनु भयो । उहाँले आफ्नो पार्टी दल दर्ता गरेसँगै निर्वाचनको तयारीमा पनि विधिवत् रूपमा प्रवेश गरेको बताउनुभयो ।

त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भइसकेको दल पटक–पटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रियासमेत दिनुभयो । यद्यपि हरेक निर्वाचनअघि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते आइतवारका दिन हुने निर्वाचन प्रयोजनका लागि यही साउन ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दललाई दल दर्ताका लागि आह्वान गरेको थियो । त्यहीअन्तर्गत एमाले महासचिव पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताले आयोग पुगेर दल दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय