
गुल्मी, ४ भदौ । गुल्मीको इस्मा गाउँपालिका–१ को हर्पुकोट नजिकैको बसेनी सामुदायिक वनमा परिचय खुल्न नसकेकी एक महिलाको शव फेला परेको छ ।इस्मा गाउँपालिका – १ का वडाध्यक्ष शेरबहादुर कुँवरले वनमा शव भेटिएको पुष्टि गरे ।शनिवार विहान वस्तु हेर्न पुगेका हर्पुकोट गाउँका हरि बिष्ट र धनबहादुर खत्रीले दुर्गन्ध आएपछि हेर्दै जाँदा मानिसको शव भएको फेला पारेका थिए । त्यसपछि उनीहरले वडाध्यक्ष कुँवरलाई खबर गरेका हुन् ।
शव तम्घास– सिमलटारी सडक खण्डबाट इस्मा तर्फ जाने छल्दीटार देखि ७ किलो मिटर दुरीको सडक भन्दा करिव डेढ सय मिटरमाथि पर्ने जंगलमा फेला परेको हो ।वडाध्यक्ष कुवरका अनुसार शवको अनुहार चिन्न सक्ने अवस्थामा छैन । लामो कपाल, गुन्यु चोली लगाएको देखेर महिला भएको पत्ता लगाईएको वडा अध्यक्ष कुँवरले बताए।उमेर अन्दाजी ६० बर्षको हुन सक्ने उनको अनुमान छ । उनले वडा नम्वर १ , २ , ३ सम्मका कतै महिला हराएका छन कि भनेर खबर गरेको तर पत्ता लाग्न नसकेका बताए छन् ।
मिडिया मार्फत सबैलाई सुचित गरी दिन वडाध्यक्ष कुँवरले आग्रह गरेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले भने हस्तीचौरको प्रहरी पुगिसकेको बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान हुने यादवले बताएका छन् ।