भदौ ५, काठमाण्डौ –
चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको बिजुली निर्यात गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली साउनमा भारत निर्यात गरेको हो । बिजुली निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएको जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो ।
त्यसपछि जेठ २७ गतेदेखि दैनिक रूपमा ६ वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुलीको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।