बुटवल ।
हिन्दू धर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ।
हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ। औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ।
पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ।