बुटवल—पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–५ मा सडक भासिएको कारण यात्रा जोखिमपूर्ण बनेको छ । सडक भासिएको क्षेत्रमा डोजर लगाएर बेलाबेला एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको भए पनि जोखिम कायमै रहेको छ ।
उक्त सडकको भित्तामा डाइभर्सन गरेर अहिले भासिएको क्षेत्रमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । तिनाउको हिउँदे खोलामा उक्त ६० मिटर सडक पूर्णरुपमा भासिँदा बुटवल तानसेनको यात्रा जोखिमपूर्ण बन्दै गएको हो ।
सडकको तल्लो भाग बग्ने समस्या भएकाले अस्थायी रूपमा निर्माण भएको सडक पानी परेमा पुनः बग्ने खतरा रहेको छ ।
पाल्पा–बुटवल सडक खण्डको चौबिस माइल, हिउँदे खोला, झुम्सा, र दोभान क्षेत्रमा सडक भासिँदै आएको छ । चुरेको कमजोर भूभाग र सडक क्षमता भन्दा बढी भारयुक्त सवारीका साधन सञ्चालन हुँदा समय समयमा पाल्पा बुटवल सडक खण्ड भासिँदै आएको बताइएको छ । हिउँदे खोलामा भासिएको क्षेत्रको सडक पाँच सय मिटर तलदेखि नै भासिँदै गएको छ । सडक भासिँदा मानवीय क्षति नभए पनि यात्रुहरूले दुःख पाएका छन् ।