अर्घाखाँची —
शितगंगा नगरपालिकामा बिरामीलाई घण्टौं डोलीमा बोकेर अस्पतालतर्फ लैजानुपर्ने बाध्यता नगरमा आइलागेको स्थानीयको गुनासो छ । एम्बुलेन्स नपाइनु र पहिरोले सडक बिग्रने गरेका कारण घण्टौं पैदल हिँड्नु पर्दा बिरामीले समयमै उपचार पाइरहेका छैनन् ।
जिल्लाको ५७ प्रतिशत भूगोल ओगटेको शितगंगा नगरपालिकाका १४ वडाकै बिरामीको उपचारका लागि नगर केन्द्र ठाडामा एक प्राथमिक स्वास्थ्य केन्द्र छ । यहाँ चिकित्सक पनि छन् । बिरामीलाई केन्द्रसम्म उपचारका लागि ल्याउन दुईवटा एम्बुलेन्स सञ्चालनमा थिए । गाउँमा बिरामी बोक्ने ती एम्बुलेन्स अहिले कार्यालयकै झाडीमा थन्किएका छन् । एम्बुलेन्स मर्मत नभएका कारण सञ्चालन हुन नसकेका हुन् । एम्बुलेन्स बिग्रिएकाले सञ्चालनमा नआएको केन्द्रका प्रमुख डा. अजय चौधरीले बताए । कार्यालय परिसरमा बिग्रेर थन्किएका एम्बुलेन्सलाई घाँस र झाडीले ढाकेको छ । महिना दिनदेखि ती एम्बुलेन्स थन्किएका हुन ।
नगरमा एम्बुलेन्स सेवा बन्द भएपछि बिरामी अप्ठ्यारोमा परेका छन । समयमै चिकित्सककहाँ पुग्न कठिन भएको छ । गाउँका स्वास्थ्य चौकीले बाहिर रेफर गरेपछि कपिलवस्तु र बुटवल अस्पताल पुग्नै समस्या हुन थालेको छ ।