
कपिलवस्तु (नारायण पान्डेय)
कपिलवस्तु जिल्लामा दिनहु जसो अहिले आत्महत्या हुने गरेको छ । कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप देखा परेको ह । एकपछि अर्को गर्दै कपिलवस्तुका बिभिन्न स्थानमा आत्महत्या गरी प्राणत्याग गर्नेहरु दिनहूँ बढिरहेका छन् ।आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय अनुसार गत आर्थिक बर्ष २०७८÷०७९ मा १ सय ६९ जनाले आत्महत्या गरेका छन ।
जसमा महिला ८६ र पुरुष ८३ छन । गत बर्ष आत्महत्या गरेको संख्या जिल्लामा अहिले सम्मकै उच्च रहेका प्रहरीले जनाएको छ । बदलिदो सामाजिक संरचना र परिबेशसंगै आत्महत्याको क्रम पनि बढदै गएको पाईको प्रहरीले जनाएको छ । कोरोनाका कारण बढदो निराशले गर्दा मानसिक रोगी भई आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको छ । बढ्दो महंगी, बेरोजगारी, बदलीदो सामाजिक परिबेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार अधिकांश व्यक्तिहरु आर्थिक विपन्नताका कारण आत्महत्या गर्ने गरेका छन् । प्रेममा असफल भएपछि पनि आत्महत्या गरेको पाईएको छ ।
स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले आत्महत्यालाई समाजमा ब्यत्तिगत समस्याको रुपमा लिइएको बताए । उनले आत्महत्या समाजिक समस्या भएकाले यसलाई सबैले गंभीररुपमा लिनु पर्ने बताए । प्रबिधिको विकाससंगै सामाजिक संजालको बढी प्रयोग गरिनुले पनि अहिले आत्महत्याको घटना बाढएको उनले बताए । अभिभावकले बालबालिकामा दबाब दिदा, किसान ऋणमा डुब्दा, दाइजोका कारण मानसिक यातना भोग्दा पनि समाजमा आत्महत्या गर्नेहरुको संख्या बढिरहेको हुदा सामाजिक क्षेत्र बाट नै यसको न्यूनिकरण गर्न सकिने उनले बताए ।