पाल्पा —
गत जेठ अन्तिम सातादेखि सरकारले कित्ताकाट रोकेर घरजग्गा कारोबारमा कडाइ गरेसँगै मालपोत कार्यालयबाट संकलन हुने राजस्व ५० प्रतिशतले घटेको छ । मालपोतमा अघिल्लो आर्थिक वर्षको साउनमा ३५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । तर, यस वर्ष भने सोही महिनामा २० लाख रुपैयाँ मात्र उठेको छ ।
सरकारले गएको जेठ २७ मा भूउपयोग नियमावली कार्यान्वयन गर्न १२ बुँदे निर्णय जारी गरेको हो । यससँगै कित्ताकाट रोकिएको जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले बताए । उनका अनुसार अघिल्लो वर्ष साउनमा पुँजीगत लाभकर ८ लाख रुपैयाँ उठेको थियो । यस वर्ष ४ लाख रुपैयाँमा झरेको छ ।
रजिस्ट्रेसन, न्यायिक, रोक्का, सेवा, पुँजीगत लाभकर र विविध शीर्षकमा मालपोतमा राजस्व संकलन हुन्छ । कित्ताकाट गर्न रोके पनि स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा राजस्व संकलनमा प्रत्यक्ष असर परेको नापी कार्यालयका प्रमुख अर्जुन पौडेलले बताए ।