
काठमाण्डौ –
प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले गएको आइतवार म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
दरखास्तसम्बन्धी फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्नेछ । असोज ७ गते सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी पुलिसको कार्यअवधि ४० दिनको हुनेछ ।