२०७९ आश्विन २, आईतवार १०:५६

, भैरहवा ।
भैरहवाट कुवेतका लागि साताको तीन उडान गर्दै आएको जजिरा एयरलाइन्सले शुक्रबारदेखि भने दैनिक सेवा थालेको छ । जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले सातामा तीन उडान गर्दै आएको थियो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवा रुटमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हालसम्म जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच १ सय १० वटा उडान सञ्चालन गरेको छ ।

जसमा कुवेतबाट भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना यात्रु ओर्लेका छन् भने भैरहवाबाट कुवेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु प्रस्थान गरेका छन् । हवाई यात्रुको चाप बढ्न थालेपछि जजिरा एयरलाइन्सले नियमित रुपमा दैनिक उडान संचालन थालेको हो । जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले कुवेत–भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको बताए ।

यसैबीच आउँदो अक्टोबर ३० (कात्तिक १३) देखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान संचालन गर्ने भएको छ । हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि हप्तामा तीन वटा हवाई उडान सञ्चालन गर्नेगरी टिकट काट्ने अनुमति पाइसकेको निर्देशक झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय