
अर्घाखाँची –
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । शीतगङ्गा नगरपालिका वडा नम्बर ३ खस्रकाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर ५० वर्षीया श्रीमती मनकला भुसालको हत्या गरेका हुन् । मनकलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमा दुई जनाबीच झगडा हुँदा श्रीमानले मसाला पिस्न प्रयोग हुने लोहोरोले श्रीमतीलाई हानेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उहाँले बताउनुभएको छ । मृतकका श्रीमान् पिताम्बरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको र त्यस विषयमा थप अनुसन्धानसमेत भइरहेको रिजालले जानकारी दिनुभयो ।