नेपालगञ्ज, असोज ११ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम बैरियाका १३ वर्षीया वन्दना विक र ११ वर्षीया निशा परियार गत पाँच दिनदेखि रहस्यमय तरिकाले सम्पर्कविहीन भएका छन्।
विक र परियार सम्पर्कविहीन भएको तीन दिनपछि वन्दनाकी सानीआमाले इलाका प्रहरी कार्यालय, कुसुममा उजुरी दिएको र सोही आधारमा तत्कालै खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो। उहाँले उनीहरू जानसक्ने र सम्पर्क भएका ठाउँ तथा आफन्तसँग शोधपुछ भइरहेको बताउनुभयो।
असोज ४ गते बेलुका निशाले वन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकोमा उनीहरूले दालभात पकाए पनि खाना नखाएको देखिएको उहाँले बताउनुभयो। ती दुवै बालिकाका आमाहरू दोस्रो बिहे गरी अन्यत्र गइसकेको र उनीहरू दुवैका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको हुँदा निशा मावली हजुरबुबा र वन्दना सानीआमा र हजुरआमासँग बस्दै आएका थिए।