
रेसुङ्गा, असोज २५ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन ।
हरेक वर्षको दसैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानीसरह भएको उहाँको गुनासो छ ।
स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दसैँ भनेर दिएको आश्वासनप्रति दिक्क हुनुहुन्छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ ।
अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नएकामा दुःखी हुनुहुन्छ । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उहाँले गुनासो गर्नुभयो ।