२०७९ आश्विन ३१, सोमबार १२:०६

बुटवल । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योग प्रालिले भारतमा निर्यात सुरु गरेको छ । उद्योगले सोमबार एककार्यक्रमकाबीच उद्योगबाट उत्पादित सिमेन्ट छिमेकी मुलुक भारतमा निर्यात शुभारम्भ गरेको छ । पहिलो लटमा उद्योगले भारतको आनन्दनगर र नौतनवामा १०० टन सिमेन्ट निर्यात गरेको हो ।

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट ९आइएसआई० मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात गर्न सुरु भएको हो ।

भारतमा आइएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने व्यवस्था छ । नेपालमा पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न नमिल्ने व्यवस्था छ । कम्पनीले भारतबाट असोज पहिलो साता आइएसआई मार्क पाएपछि सिमेन्ट निर्यात गर्न शुरु गरेको कम्पनीका नायव महाप्रबन्धक कृष्ण पाण्डेले जानकारी दिए ।

‘कम्पनीले लामोसमय देखि भारतीय बजारमा सिमेन्ट निर्यात गर्ने विषयमा अध्ययन गरिरहेको थियो,’ पाण्डेले भने, ‘सोमबारबाट भारत निर्यात सुरु भएको छ । आगामी दिनमा बजारको माग अनुसार कम्पनीले नियमित रुपमा सिमेन्ट निर्यात गर्छ ।’

क्लिङ्कर समेत उत्पादन गर्ने अर्घाखाँचीको दैनिक २ हजार २ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिने कार्यविधी ल्याएपछि कम्पनीले सिमेन्ट निर्यात सुरु गरेको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

सरकारले असोज ७ गते निर्यात अनुदान सम्बन्धी कार्यविधी संसोधन गर्दै वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी निर्यात गर्ने संस्थालाई ८ प्रतिशत सम्म नगद अनुदान दिने घोषणा गरेको छ । ३० प्रतिशत मूल्यवृद्धि गर्दै निर्यात हुने ३६ प्रकारका बस्तुमा ४ प्रतिशत नगद अनुदान दिने गरी सरकारले कार्यविधी संसोधन गरेको छ ।

सिमेन्टमा ७० प्रतिशत भन्दा बढी मूल्य वृद्धि हुने हुँदा नेपालबाट कुनै पनि देशमा सिमेन्ट निर्यात गर्ने संस्थाले ६ प्रतिशत सम्म नगद अनुदान पाउन सक्नेछन् । चालु आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायतका बस्तुमा सरकारले नगद अनुदान दिने घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय