भैरहवा । बुधबार अबेर राती सिद्धार्थनगर नगरपालिकामा चौपायालाई लतार्दै गरेको दृश्य एकाएक सामाजिक सञ्जालमा देखियो । भैरहवा बैंकरोडमा सिद्धार्थनगर नगरपालिकाको नगर प्रहरीको ट्रक पछाडि बाँधीएको र चौपाया लतार्दै गरेको देखिएको दृश्यका कारण भैरहवा बासीहरुमा आक्रोश देखिएको थियो । फलतः बिहानै भैरहवाका स्थानीयहरु स्वतःस्फूर्त रुपमा नगरपालिका अगाडि जम्मा भई नगरपालिकाको कार्यको बिरोध जनाए ।
नगरपालिकाको काम गर्ने शैलीले नगरवासीमा आक्रोश जगाएको छ । नगरपालिकाका कर्मचारी र नगर प्रहरीको टीमले चौपायालाई नगर प्रहरीको गाडी पछाडि बाधेर लैजाने गरेका छन् । केही समय पहिला बुद्धचोकमा गाइलाई ट्रक पछाडि बाधेर लगेको दृश्य सामाजिक सनञ्जालमा भाइरल बनेको थियो । झट्ट हेर्दा सामाजिक सञ्जालमै भए जस्तो देखिने उक्त घटनाबारे नगरपालिकाले स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा देखाईए जस्तो चौपाया ब्यवस्थापनको क्रममा कुनै प्रकारको क्रुरता नगरेको नगरपालिकाको भनाई छ ।



सिद्धार्थनगर नगरपालिकामा छाडा चौपायाको ब्यवस्थापनमा कुनै प्रकारको लापरवाही नभएको स्पष्ट पारेको छ । बिहिबार नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटनालाई अतिरन्जित बनाउन खोजिएको बताएको छ । सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तिायक अहमद खाँनले घटनालाई जातीय विद्वेश फैलाउने उद्देश्यले बढाई चढाई पेश गरिएको आरोप लगाए ।
उनले अहिलेसम्म १ सय २६ वटा चौपाया ब्यवस्थापन गरि गौ संरक्षण तथा अनुसन्धान केन्द्रको जिम्मा लगाई सकिएको बताए । सोही क्रममा नगरमा आतंक मचाई रहेको साँढेलाई नियन्त्रणमा लिई केन्द्र लैजाने क्रमको दृश्य रहेको उनले बताए । “मानिसलाई नजिक आउनै नदिने साढेलाई जेनतेन ट्रकमा बाधेर लैजादै थियौ ।” उनले भने–“केही पर पुगेपछि साढे बस्यो र त्यही बसेको दृश्यलाई अहिले सामाजिक सञ्जालमा नानाभाती कुरा गरेर प्रचार गरिएको छ ।”
नगपालिकाले घटनाको सिसिटिभी फुटेज पनि सार्वजनिक गरेको छ । जसमा साढे हिँड्दा हिँड्दै बसेको देखिन्छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले फोटोमा रगत जस्तो देखिए पनि त्यो रगत नभइ ट्रकको बत्तीको प्रतिबिम्ब भएको दावी गरे । उनले ट्रकमा लैजाने क्रममा बाटो थोरै उठेको कारण साढे अनियन्त्रित भई बसेको हुन सक्ने बताए । “नगरपालिका यस्तो विषयमा गम्भिर छ, हामीले छाडा चौपाया ब्यवस्थापन गर्दा सबै कुराको ख्याल पुर्याएर गरेका छौ ।” पौडयाल भने “भविष्यमा पनि यो ख्याल राख्नेछौं, त्रूटी नहुने गरि काम अगाडि बढाउने छौं ।”






