२०७९ माघ ५, बिहीबार १५:१४

बुटवलमा दुई ठूला केबलकार परियोजनाको तीव्र रूपमा निर्माण भइरहेको छ।

लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुर पुग्न केबलकार निर्माण भइरहेको हो। तिनाउ नदी वारिपारि आधार बेस स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणाधीन छन्। बुटवलमा रहेको अस्थायी राजधानी दाङमा स्थानान्तरणपछि बजार सुस्ताउने अनुमान गरिएको छ। सो विकल्पका रूपमा यी दुई केबलकार निर्माण सम्पन्न भएको अवस्थामा बुटवल क्षेत्र आर्थिक तथा पर्यटकीय ‘हब’ बन्ने अपेक्षा गरिएको छ।

बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा रहेको छ। वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै भारतीय पर्यटक भित्र्याउने लक्ष्यसाथ अहिले केबलकार निर्माणलाई तीव्रता दिइएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो।

उहाँले साढे तीन अर्ब रुपियाँभन्दा धेरै लगानीमा पाँचतारे होटल र पार्कसहितका संरचना निर्माणक्रममा रहेको जानकारी दिनुभयो। केबलकारका लागि आवश्यक सामग्री बुटवलबाट हेलिकोप्टरले धमाधम ओसारिरहेको छ। यता बुटवलको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकार पाल्पाको नुवाकोट पुग्नेछ। तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबलकारले बुटवल–३ को चुरे सामुदायिक वनको ३।१६ हेक्टर र पाल्पाको तिनाउ–३ चिउरीडाँडा न्याउली सामुदायिक वनको ३।११ हेक्टर गरी ६।२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। त्यहाँ पनि बुटवल र नुवाकोट गढीमा अहिले स्टेसन निर्माण भइरहेको छ। यो केबलकार अबको सात महिनाभित्र सञ्चालनमा आउनेगरी निर्माणलाई तीव्र दिएको सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताउनुभयो।

२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको र फागुन ९ गते सिद्धार्थ केबलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नुभएको हो। लुम्बिनी केबलकारमा २५ वटा बाकस हुनेछन्।

प्रतिबाकसमा आठ यात्रु सवार गर्न सक्नेछन्। प्रतिघण्टा छ सय यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमता रहेको अध्यक्ष ढकालले बताउनुभयो। नियमित रूपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको छ। केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको छ। लुम्बिनी केबलकारमा आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको करिब २५ प्रतिशत लगानी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय