कपिलवस्तु ७ माघ
मायादेवी साझेदारी वन पटना कपिलवस्तुको चौथो साधारण सभा तथा अधिवेशनको शनिवार ४ नं मा शुभारम्भ गर्दै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजय सुबेदीले वनको पहुँच सबैमा पुर्याउन साझेदारी वन सफल भएको बताउनु भयो । उहाँले मायादेवी साझेदारी वनको संरक्षण अतिक्रमण नियन्त्रण वन डढेलो नियन्त्रण र तारवार गरेर वनलाई संरक्षण र प्रवद्धन गरेको भन्दै समितिलाई धन्यवाद दिनु भयो ।
उक्त साझेदारी वनको साधारण सभा समुद्घाटन सत्रमा वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष रेणु सेन , तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उक्त वन व्यवस्थापन समितिका अध्यक्ष अब्दुल अजिज खाँले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वाणगंगा , मायादेवी र शुद्धोधन गाउँपालिकाका १७ वडाका २२ हजार २ सय २९ घरधुरी यो वनका उपभोक्ता रहेका छन ।
२०७० बाट शुरु भएको साझेदारी वनले १० वर्षको योजना बनाई काम गर्दै आएको छ । पिपरा क्षेत्रमा ६ सय ५७ हेक्टर र पटना क्षेत्रमा १ हजार८३ हेक्टर गरि कुल १७ सय ४० हेक्टरमा उक्त वन फैलिएको छ । सो साधारण सभामा आव ७९÷८० का लागि सहायक वन अधिकृत शिव वहादुर के।शी।ले प्रस्तुत गरेको वार्षिक कार्यक्रम समेत स्वीकृत भएको छ । सो कार्यक्रममा ४ करोड ९३ लाखको अनु मानित वार्षिक वजेट समेत पारित गरिएको छ ।उद्घाटन समारोहको सञ्चालन हेमनाथ पौडेलले गर्नु भएको थियो ।