काठमाण्डौ – नयाँ राष्ट्रपतिको चुनावका लागि आज बिहीवार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेश सभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
देशको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्वसभामुख नेम्वाङ एमालेका उम्मेदवार हुनुहुन्छ ।
राष्ट्रपतिको चुनाव सङ्घीय संसद् ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति चुनावमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।









