ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना १० फूलवारीकी १४ बर्षीया सिता ज्ञवालीको मृत्युको विषयमा अनुसन्धान प्रकृया अघि बढाएको छ ।
केही दिन अघि घाँटी र कान दुखेपछि ज्वरो आएर सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै रहेकी सितालाई मातासंग देखाउन अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ बर्षीया माता सोनिया रेश्मी कहाँ शनिवार साँझ लिएर गएका थिए ।
माता भनिने सोनियाले धामी झाँक्री गरी बोक्सी बकाउने नाममा निर्मम शारीरिक यातना दिएकी थिइन । त्यसपछि उनको शनिवार साँझ करिव साढे नौं बजे मृत्यु भएको थियो ।
लगातार चार पाँच दिनदेखि बिरामी परेकी सिताको मृत्यु माताको शारीरिक यातनाले भएको भन्ने थाहा नपाएका स्थानीय बासिन्दा सोही राती कपिलबस्तुको लक्ष्मणघाटमा सतगतका लागि परिवारको आग्रहमा गएका थिए ।
सतगत गरेर आएपछि घटना सामसुम भएको थियो । तर आईतवार साँझ सो घटनाको भिडियो एक स्थानिय युवाले सार्बजनिक गरेपछी सितालाई निर्मम शारीरिक यातना दिएपछि मृत्यु भएको भिडियोबाट देखिएको छ ।
भिडियोमा माता भनिने सोनियाले सितालाई लछारपछार गरेको, शरीरमा पानी खन्याएको, कपालमा समातेर घिसारेको, जबरजस्ती पानी खुवाएको लगायतका निर्मम तरिकाको यातना देखिन्छ । त्यसपछि ईलाका प्रहरी कार्यालय सालझण्डीले घटनाको बिषयमा जानकारी पाएपछि माता भनिने सोनिया रेश्मीलाई नियन्त्रणमा लिएको छ । अहिले ति युवाले युटुव र फेसबुकबाट भिडियो हटाएका छन् ।
मलामीलाई सास्ती
प्रहरीले मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सम्म सोधपुछ भन्दै नियन्त्रणमा लिएर सास्ती दिएको सैनामैना १० का शेषकान्त बेल्वासेले बताएका छन् ।
२० गते सनिवार राति उक्त बालिकाका घरका व्यक्तिले बालिकाको मृत्यु भएको खबर गरेपछी आफुहरु छिमेकीको नाताले सहयोग गर्दा समस्यामा परेको उनले बताए । छिमेकमा मृत्यु जस्तो घट्ना हुदाँ सहयोग गर्नै पर्यो , हामीलाई झारफुक बारे थाहै भएन् अहिले प्रहरीले २ दिन देखि अपराधी जस्तै गराएको छ उनले लुम्बिनी दर्पणकर्मी सँग कुराकानी गर्दै भने “नत खानको ठेगान छ नत सुत्नको सहयोग गर्दा समस्या होला भन्ने थाहा पाईएन् आईतवार भिडियो सार्वजनिक भएपछी मात्र प्रहरी घरघरै मलामी नियन्त्रणमा लिन थालेपछी बल्ल थाहा पायौ झारफुकबाट यातना पछी ज्यान गएको” प्रहरीले अनुशन्धानका लागि भन्दै सवै मलामीहरुलाई सोमबार विहानबाट दिउसो सम्म लक्ष्मणघाट शवदाह स्थलमा ल्याएको थियो ।
पछि बोलाएको अवस्थामा उपस्थित हुनेगरि छाडेको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले माता भनिने सोनिया रेश्मीलाई हिरासतमा राखेर जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको बताए ।