२०८० जेष्ठ २६, शुक्रबार १२:५८

काठमाण्डौं, २६ जेठ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ। शुक्रबार राजनीतिक दलसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन्। विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने कार्यको शुरूआत गर्ने व्यवस्था मिलाउन लागिएको थपलियाले बताए।

उनका अनुसार, विदेशमा रहेका नागरिकले अनलाइनमार्फत नेपालमा स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी ‘प्रि(रजिस्ट्रेशन’ गरिने भएको छ। यसका लागि सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगमा व्यक्ति स्वयं उपस्थित भई तस्वीर र औंंठाछाप दिने व्यवस्था मिलाइने छ।

यसका लागि नेपाल सरकारले विदेशमा मतदाता नामावली संकलन गर्नका लागि सैद्धान्तिक सहमति दिने, आवश्यक स्रोत साधन उपलब्ध गराउने र कूटनीतिक पहल गरिदिनुपर्ने आयोगले जनाएको छ।

यसमा आयोगले कूटनीतिक नियोगकै कर्मचारीलाई परिचाल गर्ने योजना बनाएको छ। पराष्ट्र मन्त्रालयसँगको समन्वयमा सम्बन्धित देशको कूटनीतिक नियोगका अधिकृतस्तरका कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायकस्तरका कर्मचारीलाई दर्ता कर्मचारी तोक्न आवश्यक व्यवस्था मिलाइने भएको छ।

सक्कल नागरिकता साथमा नभएमा राहदानीलाई परिचयपत्रको रुपमा लिई तस्वीर र औंठाछाप दिन मिल्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ।

यससँगै आयोगले राजनीतिक दलसँगको छलफलमा जिल्ला कार्यालय राख्नुपर्नेमा जोड दिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयोगका जिल्ला कार्यालय हटाउने जनाएको थियो।

त्यस्तै, निर्वाचन व्यवस्था सम्बन्धी विधेयक संसद्मा पेश गर्ने, स्थानीय तहमार्फत मतदाता नामावली संकलन कार्य शुरू गर्ने र राजनीतिक दलको लेखा परीक्षणका सम्बन्धमा पनि छलफल भएको आयोगले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय