२०८० असार २२, शुक्रबार १९:३४

काठमाण्डौ – जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

आज शुक्रवार नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे ।

भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण ९सुपर सिक्स० मा स्थान बनाउन असफल रह्यो । सातौँ स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तरमा पराजित हुन पुग्यो ।

टोलीका कप्तान रोहित पौडेलले छनोटमा आशा गरेअनुसारको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रसँग खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताए । खेल अगाडि टेस्ट राष्ट्र जिम्बावे र वेस्ट इन्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहे पनि उनीहरू र आफूहरूबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ । नेदरल्यान्ड्स विश्वकपमा छनोट हुनुले नेपालजस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्न सक्छौँ भन्ने प्रोत्साहन मिलेको उनले बताए ।

यस्तै टोलीका अलराउन्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गरे । यद्यपि उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ । उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको झाको विश्वास छ ।

विश्वकप छनोटका लागि जिम्बावे पुगेको नेपाली टोलीले कुल छ खेल खेल्दा दुई वटा नतिजामात्र आफ्नो पक्षमा पारेको थियो । तीन वटा टेस्ट राष्ट्र जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एकमात्र एसोसिएट राष्ट्र नेदरल्यान्ड्ससँग पनि हार बेहोरेको थियो । बाँकी दुई वटा एसोसिएट राष्ट्र यूएई र अमेरिकालाई भने नेपालले हरायो ।

अब नेपाली टोली केही दिन आराम गरेपछि एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलङ्का जानेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय