२०८० भाद्र १०, आईतवार ०७:२१

भैरहवा — सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले पाँच महिनामा ४ करोड रुपैयाँभन्दा धेरै मूल्यको विभिन्न अवैध मालसामान बरामद गरेको छ । गत चैतदेखि साउनसम्मको यस अवधिमा २५ जना पेसेवर तस्कर कारबाहीमा परेका छन् ।

बरामद गरिएका मुख्य सामानमा नेपालबाट भारततर्फ लैजाँदै गरिएको १ करोड ८० लाख रुपैयाँ मूल्यको पौने २ किलो सुन र ८० लाख रुपैयाँ मूल्यको १ हजार ५ सय थान इलेक्ट्रोनिक सिगरेट, भन्सार छलेर भारतबाट नेपाल भित्राइएका लत्ताकपडा, तयारी पोसाक, हार्डवेयरका सामान, चिनी, मोबाइलका पार्ट्स रहेका छन् ।

ती सामान ढुवानीमा प्रयोग गरिएका ९ वटा मोटरसाइकल, एउटा स्कुटर, ८ वटा साइकल, २ वटा थान अटोरिक्सा, एउटा बस र एउटा ट्रक पनि नियन्त्रणमा लिइ अवैध सामानसँगै भन्सार कार्यालयमा बुझाइएको छ ।

गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण शर्माले गत चैत महिनादेखि नै तस्करी नियन्त्रण अभियान कार्यक्रम गुल्मले सञ्चालन गरेको र अभियान प्रभावकारी बनाउन गुल्म र गुल्म मातहत रुपन्देहीको सीमा क्षेत्रमा परिचालित पाँच वटा बीओपी (बर्डर आउट पोस्ट) मा कार्यरत सबै सशस्त्र प्रहरीलाई प्रशिक्षण दिइएको बताए ।

‘तस्करी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सुरुमा सशस्त्र प्रहरीलाइ नै प्रशिक्षण दिइएको थियो,’ शर्माले भने, ‘बरामद गरिएका अवैध सामानसँगै यस अवधिमा २५ जना पेसेवर तस्करलाई पनि नियन्त्रणमा लिइ भन्सार कार्यालयमार्फत् कारबाहीमा परेका छन् ।’
गुल्मका अनुसार, नियन्त्रणमा लिइएका २५ जना पेसेवर तस्करमध्ये १८ जना महिला र ७ जना पुरुष छन् । कसुर अनुरुप भैरहवा भन्सार कार्यालयले उनीहरुबाट धरौटी रकमा अर्न्तगत ३५ लाख रुपैयाँ राजश्व असुल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय