२०८० आश्विन १७, बुधबार ०८:१२

बझाङ 

बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।

पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ ।

भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । जयपृथ्वीको माल्लालाग्ना भिर र छविस पाथीभेराको जालेबगरलगायतका ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पराकम्प आइरहेकाले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।

सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का बझाङका साथै बाजुरा, डोटी, बैतडी र भारतको दिल्लीसम्म महसुस गरिएको थियो ।


पटक–पटक परकम्प गइरहेकाले स्थानीय बासिन्दाले घरबाहिर खुला चौरमा बसेर रात कटाएका छन् । दिउँसोको समय भूकम्प गएको र घरमा कोही नभएको बेला हुनाले पनि मानवीय क्षति हुनबाट जोगिएको स्थानीय जनप्रिय माविका प्रध्यानाध्यापक पद्म खड्काले बताउनुभयो । जिल्ला अस्पताल बझाङले खुला चौरमा नै उपचार सेवा दिएको छ ।

यस्तै, जिल्ला बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले खप्तड छेडेदह गाउँपालिका, बूढीगङ्गा र बडीमालिका नगरपालिकालगायत क्षेत्रमा थुप्रै घरहरू चर्किएको र भत्किएका र क्षतिको विवरण सङ्कलनका लागि सुरक्षाकर्मी खटिएका बताउनुभएको छ । भूकम्पले बैतडीमा दुई जना घाइते भएका छन् । त्यस्तै, दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय