काठमाडौँ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ धनेशपुरस्थित धान प्रशोधन भवन करिब ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ । साना किसान कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरणको लागतमा साढे तिन कठ्ठा जग्गामा निर्माण सुरु गरिएको भवनमा अहिले कसैको पनि ध्यान नपुग्दा भवन जिर्ण हुँदै गइरहेको छ । यतिसम्म कि भवनबाहिर झार उम्रिएको छ । फलामजन्य सामाग्रिमा खिया लागेको छ । भवन भित्र पनि झारपात उम्रन थालेका छन् । निर्माणाधिन संरचना पनि जिर्ण दिनप्रतिदिन जिर्ण हुँदै गएका छन् । अझै पनि समयमा ध्यान नजाने हो भने सरकारको लगानी बालुवामा पानी उखानले धनेशपुरबाटै चरितार्थ पाउने निश्चित छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण र साना किसानको ३०, ३० लाख गरी ६० लाखको लागतमा उक्त भवन निर्माण गर्ने सम्झैता छ । त्यसअनुसार भवनको निर्माण पनि सुरु भयो । तर बीचमै काम रोक्दा ४ बर्षदेखि अलपत्र अवस्थामा छ । स्थानीयका अनुसार लाखौँको सो भवनमा सरोकारवाला कसैको चासो छैन । भवन जीर्ण भएर काम नलाग्ने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायको ध्यान पुग्न नसकेका स्थानीयको आरोप छ । भवन निर्माणबापत् संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १२ लाख ३ हजार ७४ रुपैयाँ भुक्तानी गरिसकेको अवस्था छ ।
‘कर्मचारी र हाकिमहरु बस्ने संस्थाको चार तल्ला भवन सम्पन्न भएको ३ वर्ष वितिसक्यो’ एक जना स्थानीयले भने ‘उनीहरुलाई मोज मस्ती छ किसानको धान राख्ने भवन किन बनाऊन् । हामीमाथि जे अत्याचार गरे पनि भयो ।’
भवनबारे आजभोलि जनताको यस्तै गुनासो आउन थालेपछि सामाजिक संजालबाट पनि खबरदारी भएको थियो । त्यसपछि धेरैले सानाकिसानको चरम लापरबाही रहेको भन्दै आलोचना गरिरहेका छन् । यस्तै आलोचनापछि लुम्बनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि भवन निर्माणबारे चासो राखेका छन् ।
सामाजिक संजालबाट खबरदारी भएपछि आलोचित बनेको अलपत्र धान प्रशोधन भवनमाथि सांसद विष्णु पन्थी केहि सदस्य लिएर सोमबार धनेशपुर पुगे । त्यहाँ पुगेर अवलोकन गरेपछि उनले पनि भवनमाथि प्रश्न उठाएका हुन् । उनको लेखाइअनुसार भवनको यस्तो हविगत हुनुमा निर्माण पक्षको धेरै लापरबाही रहेको छ भने भवनमा कुनै ढंगसंग काम भएको देखिँदैन ।
वनलाई ब्यागराउण्डमा राखी फोटो सार्वजनिक गरेका पन्थीले प्रश्न गरेका छन् कुनै काम ढंगसँग नगर्ने हाम्रो बानी कहिले र कसरी सुधार्नेरु पन्थीले सरकारको लगानीबाट बनेको भवन अलपत्र हुनुको कारण पनि माग गरेका छन् । सामाजिक संजाल फेसबुकमा पन्थी लेख्छन्
”यो मोतिपुर सानाकिसान सहकारी संस्था लिमिटेड कपिलवस्तुले बाणगंगा ८ धनेस्पुरमा जग्गा खरिद गरि बनाएको आधुनिक बिउ प्रशोधन केन्द्र हो , प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले कबुल गरेको रकम उपलब्ध नगराउदा यो पुरा हुन सकेको छैन । सहकारीले आफ्नो हैसियतमा धेरै ठूलो रकम खर्चेर यहासम्म ल्याएको यो संरचना पुरा गरी सेवामा ल्याउने सन्द्रभमा संस्थाका संचालक भिम थापा , प्रबन्धक शालिक राम जी सहित । कुनै काम ढंगसंग नगर्ने हाम्रो बानी कहिले र कसरी सुधार्ने हो रु” भवनको हविगत अवलोकन गरेर फर्किएका उनले चाँडै यस भवनलाई संचालनमा ल्याउन आफूले पहल थाल्ने दावी गरे ।
यता भवनको यस्तो हविगत हुनुमा साना किसान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि आकृषि सले एक अर्कालाई दोष लगाउँछन् ।
साना किसानले परियोजनाबाट समयमा भुक्तानी नहुँदा समस्या भएको बताउँछ भने परियोजनाले सहकारी संस्थाले काममा ढिला सुस्ती गरेको बताउँछ ।
परियोजना कार्यान्वयन इकाई धान सुपरजोन, कपिलवस्तुका बरिष्ठ कृषि अधिकृत सहसराम चौधरीले बताए अनुसार साना किसानकै लापरबाहिका कारण सम्झौता अनुसारको भुक्तानी दिन सकिएको छैन ।
साना किसानको भवन र जग्गामा आर्थिक लेनदेनको विषय पनि जोडिएको सामाजिक संजालमै आएको थियो । साना किसानले जग्गाको लेनदेनमा ठुलै आर्थिक चलखेल गरेको आरोप लाग्ने गरेको छ