२०८० मंसिर २५, सोमबार ०६:४९

बुटवल ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै व्यवसायीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरुले आइतबारदेखि विमानस्थल अगाडि धर्ना सुरु गरेका छन् । सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा शुक्रबारदेखि भैरहवामा आन्दोलन सुरु भएको हो ।

विमानस्थल उद्घाटन भएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेकोले आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । धर्ना कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले २०७९ जेठमा उद्घाटन भएको विमानस्थल नियमित सञ्चालनको लागि धर्नामा बस्नुपरेको बताए । उनले भने, ‘कति कमजोर कुटनीति भएको सरकार यो देशमा छ । विमानस्थल चलाउन तदारुकता नदेखाउने सरकारबाट के अपेक्षा गर्ने रु’ उनले राज्य निकै अस्तव्यस्त भएको बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले गठबन्धन सरकारले जनताको लागि कुनै काम गर्न नसकेको आरोप लगाए । उनले विमानस्थल सञ्चालनका लागि लुम्बिनी प्रदेशको जनता सडकमा उत्रिन बाध्य हुने बताए । होटल व्यवसायी महासंघ, नेपालका उपमहासचिव राजेश महोत्राले विमानस्थल सञ्चालनका लागि गरिएको आन्दोलनप्रति ऐक्वद्धता जनाए । उनले विमानस्थल सञ्चालनका लागि सरकारलाई निरन्तर घचघचाइरहेको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का पूर्व वडाअध्यक्ष तथा क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष मिलन बस्नेतले विमानस्थल बनाउँदा स्थानीयबासीले यस क्षेत्रको विकास हुन्छ भनेर स्वतस्फूर्त रुपमा जग्गा दिएको बताए । उनले सरकारको नेतृत्वले ध्यान दिन नसकेकाले विमानस्थल सञ्चालनमा आउन नसकेको बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ की वडा सदस्य रुपमाया पुनले निर्माण भइसकेको विमानस्थल सञ्चालन हुनुपर्ने माग गरिन् । उनले विमानस्थल सञ्चालन भएपछि प्रत्यक्ष– अप्रत्यक्ष रुपमा सबैलाई सहयोग पुग्ने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव ९भोला० ले विमानस्थलका लागि स्थानीयबासीले आफ्नो घरजग्गा दिएकाले विमानस्थल कुनै पनि हालतमा सञ्चालनमा ल्याउनुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व महासचिव विजय पाण्डेले विमानस्थल पूर्ण सञ्चालन नभएसम्म आन्दोलन जारी रहने बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसिउद्दीन खानले विमानस्थल भैरहवाबासीको मात्र नभइ राष्ट्रिय गौरवको आयोजना भएको बताए । उनले विमानस्थललाई लक्षित गरेर व्यवसायी महंगो ब्याजदरमा बैंकबाट ऋण लिएर व्यवसायमा लगननी गरेको बताए । उनले विमानस्थल सञ्चालनका लागि दबाब दिन प्रदेशभरबाट हजारौं जनता आउन सक्ने चेतावनी दिए ।

धर्नामा सहभागी भएका लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री सन्तोष कुमार पाण्डेयल विमानस्थल सञ्चालनका लागि भएको आन्दोलनले सार्थकता पाउने बताए । उनले प्रदेश सरकारमा रहेका मन्त्री र मुख्यमन्त्रीले दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग दुश्मनी गर्नुपरे वा वार की पारको लडाइ गनुपरे गर्छ । सन्तोष पाण्डेय मन्त्री पछि हो पहिला यो क्षेत्रको एउटा व्यक्ति हो । मन्त्री भनेको आज छ भोलि छैन । तर सन्तोष पाण्डे बाँचेसम्म यही हुनेछ ।’ उनले प्रदेशको मातहतमा भएको भए विमानस्थल सञ्चालनमा आइसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय