कपिलवस्तु,
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ । थ्री स्टार क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । बुद्ध रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेल बाट पुलिस फाइनलमा पुगेको हो । खेलको ५१ औं मिनेटमा विवेक पाण्डेले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । थ्रिस्टारले गोल गर्न नसकेपछि अन्ततः विवेकले गरेको गोल नै पुलिसको जितका लागी पर्याप्त हुन पुग्यो । विवेक नै ‘म्यान अफ दि म्याच’ भए । उनले ट्रफीसहित १० हजार प्राप्त गरे । पुलिसले क्वाटरफाइनल सहारा क्लब पोखरालाई हराएको थियो । थ्रीस्टार कपिलवस्तु –११ लाई उद्घाटन खेलमा ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । फाइनलमा पुलिसले उपाधिका लागी विहीबार हुने सेमिफाइनल खेलको विजेतासंग भिड्ने छ । प्रतियोगिताको दोस्रो सेमिफाईनल भोलि विहिबार सुदूरपश्चिम ११ र हनामी विएफसी चिवतनबीचको हुदैं छ ।
सुदूरपश्चिमले क्वाटरफाईनलमा आर्मीलाई टाई ब्रेकरमा हराएको थियो भने हनामीले मछिन्द्रलाई सड्न डेथमा हराएको थियो । प्रतियोगिताको फाईनल खेल यही चैत्र २४ गते शनिबार हुने अध्यक्ष तिलक थापाले जानकारी दिए । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।