२०८१ बैशाख २५, मंगलवार १२:५७

काठमाण्डौ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सर्वदलीय निर्णय भयो भने सहमत हुने जनाएको छ ।

आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सांसद मनिष झाले सबै राजनीतिक दलले समिति बनाउन स्वीकार गर्ने अवस्थामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न आफूहरू सहमत हुने बताउनुभयो ।

आजको बैठकले आउँदो बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे पनि छलफल गरेको सांसद झाले जानकारी दिनुभयो । बैठकमा बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रूपमा प्रस्तुत हुनेबारेमा छलफल भएको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयहरूलाई सत्ता पक्षमात्र नभई जनप्रतिनिधिको रूपमा हेर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको बताउनुभयो ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिको अधिवेशनमा संसद् अवरुद्ध गरेकोमा व्यक्ति नै किटान गरेर नभई सङ्कटमा रहेका सहकारी संस्थाको समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिने सत्ता गठबन्धनले बताउँदै आएको छ । तर नेपाली कांग्रेसले लामिछानेलाई बाहिर राख्ने गरी छानबिन समिति बन्न नसक्ने अडान लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय