कपिलवस्तु
उमेरको ४ दशक अवधि खर्च गरेको पार्टीबाट निकालामा परेपछि भीम रावल यतिखेर झनै व्यस्त छन्। काठमाडौँको टोखास्थित उनको निवासमा बिहान सबेरैदेखि साँझ अबेरसम्मै उनलाई भेट्न पुग्नेहरूको ताँती लागिरहेको छ।
२०३० सालमा विद्यार्थी आन्दोलनका क्रममा राजनीतिसँग जोडिएका उनी त्यसयता अनवरत क्रियाशील थिए। नेकपा एमालेजस्तो देशको एक शक्तिशाली पार्टीको उपाध्यक्ष र गृह तथा रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व लिनुका साथै उपप्रधानमन्त्रीको पदमा समेत उनी पुगे।
पछिल्ला ३ वर्षयता भने पार्टीको मूलधारबाट छुट्टिँदै गएका थिए। पार्टीमा उनको क्रियाशीलता कम हुँदै गएको थियो। अहिले पार्टीबाट निकालिएपछि उनको एकाएक सक्रियता र व्यस्ता बढेको हो।
भेटघाट र परामर्शको म्याराथन शृंखलाका बीच नेकपा एमालेका पूर्वउपाध्यक्ष रावल बुधबार आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै छन्। उनले आफ्नो आगामी कदमबारे धारणा सार्वजनिक गर्न दिउँसो १ बजे काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
उनीनिकट स्रोतका अनुसार, रावलले बुधबार नयाँ राजनीतिक शक्ति निर्माणका लागि तयार पारेको अवधारणापत्र वाचन गर्नेछन्। करिब एक घण्टामा वाचन गर्न सकिने गरी उनले अवधारणापत्र तयार पारेका छन्।
तत्काल पार्टी घोषणा नगर्ने
रावलले बेग्लै राजनीतिक शक्ति निर्माण गर्ने तयारीका साथ आफ्नो अवधारणापत्र सार्वजनिक गर्न लागेका भए पनि तत्काल पार्टी नै घोषणा भने नगर्ने निकटस्थहरूलाई बताएका छन्।
पार्टी घोषणा गर्नुअघि उनले देशव्यापी अभियान सञ्चालन गर्ने, भित्रभित्रै संगठन र सम्पर्क सञ्जाल बढाउँदै लैजाने सोच बनाएका छन्। ७ वटै प्रदेश र ७७ वटै जिल्लामा गएर जनमनोविज्ञान बुझेर प्राप्त रायसुझावका आधारमा नयाँ पार्टी घोषणा गर्ने उनको योजना छ। रावललाई नजिकबाट सघाइरहेका एक नेताले भने, ‘देशव्यापी अभियान सञ्चालन हुन्छ। यसमा करिब एक वर्ष जति लाग्न सक्छ। त्यसपछि मात्र पार्टी घोषणा होला।’
यी हुन् मुख्य २ एजेन्डा
रावलले मुख्य २ एजेन्डामा रहेर अभियान सञ्चालन गर्ने अवधारणापत्रमा उल्लेख गरेका छन्।पहिलो एजेन्डामा उनले राष्ट्रियतालाई राखेका छन्। मातृभूमिको रक्षाका लागि राष्ट्रवादीहरू एक ठाउँमा हुनुपर्ने भन्दै उनले आफ्नो अभियानमा साथ दिन आह्वान गर्ने भएका छन्।
उनले दोस्रो एजेन्डा सुशासनलाई बनाउने भएका छन्। देशमा भ्रष्टाचार बढेको, बेथितिको अगुवाइ ठूला राजनीतिक दलहरूले गरेको र नयाँ भनिएका पार्टीहरू पनि जन्मिँदै समस्याग्रस्त भएको निचोडसहित उनले बेग्लै अभियानको आवश्यकतामा जोड दिनेछन्।
‘ओली, नेपाल, प्रचण्ड एउटै’
कतिपयले रावल अब माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जान सक्ने आकलन पनि गरेका छन्।ओलीले संसद विघटन गर्दा त्यसको विरोधमा उत्रिएका रावल माधव नेपालसँगै थिए। तर, अन्तिम घडीमा रावलले नेपालको साथ छाडे र एमालेमै रहने निधो गरे। ‘यति दुःख गरेको पार्टी छाडेर जान्नँ’ भन्दै उनले एमालेमै रहने निर्णय लिएका थिए।
उनले एमालेलाई माया गरे पनि एमालेले भने त्यसपछि उनलाई आफ्नो ठानेन। खासगरी ओलीले उनलाई पेल्दै गए। चितवन महाधिवेशनमा ओलीलाई नै अध्यक्षमा टक्कर दिएपछि त दुई किनाराजस्तै भए।
अहिले पार्टीबाट निकालामा परेपछि रावल माधव नेपाल र केपी ओली फरक छैनन् भन्ने निष्कर्षमा पुगेका छन्। रावल र ओली मात्र होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पनि कुनै भिन्नता नरहेको उनको ठम्याइ छ। त्यसैले उनी मौजुदा कुनै पनि शक्तिमा मिसिन नहुने र आफ्नै बुतामा अर्को पार्टी बनाउने निर्णयमा पुगेका हुन्।
केन्द्रमा असन्तुष्टि र वितृष्णा
रावलले हालका राजनीतिक दल र तिनका नेताहरूप्रति बढ्दो असन्तुष्टि र वितृष्णामा केन्द्रित रहेर आफ्नो अभियान सञ्चालन गर्ने भएका छन्।
‘अहिलेको अवस्थामा कोही पनि सन्तुष्ट छैन,’ उनले निकटस्थहरूलाई भनेका छन्, ‘ढिलोचाँडो यहाँ श्रीलंका वा बंगलादेशको जस्तो अवस्था हुन सक्छ। यहाँ कसैले नसोचेको भयानक अवस्था आउँदै छ। अहिलेकै अवस्थामा जनता चुप लागेर बस्दैनन्। यो अवस्थामा एउटा भरलाग्दो शक्तिले जनभावनाको नेतृत्व गर्नुपर्दछ।’
उनले नयाँ बन्ने पार्टी ‘मास बेस्ड’ हुने जनाउ पनि दिएका छन्। रावलका निकटस्थहरूका अनुसार, अहिले विभिन्न दलका असन्तुष्ट नेताहरू उनको सम्पर्कमा पुगेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका केही पूर्वअधिकारीहरूले पनि अभियानमा साथ दिने भनेका छन्। एमालेबाट ठूलै पंक्ति आफ्नो पक्षमा आउने अपेक्षा पनि रावलले गरेका छन्। केही प्रभावशाली बौद्धिकहरूको जमात, प्रविधिमा अभ्यस्त युवा समूह आदि पनि आफ्नो अभियानमा जोडिन तयार भएको उनको बुझाइ छ।
बुधबारको पत्रकार सम्मेलनमा उनले मुख्यतः प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘भण्डाफोर’ गर्ने तयारी गरेका छन्अहिलेसम्म ओली र उनको समूहले देशको हितविपरीत, सुशासनविपरीत केके काम गरेरु केके बदमासी गरेरु अब देश कता जाँदै छरु सबै कुरा जनतालाई भन्नुपर्छ भन्ने निष्कर्षमा रावल पुग्नुभएको छ,’ उनका एक सहयोगीले भने, ‘घनीभूत गृहकार्य गर्नुभएको छ। सायद यो घटना नेपाली राजनीतिको एउटा माइलस्टोन हुन सक्नेछ।’