
जापान। नारायण पाण्डे,
जापानले सन् २०२६ अप्रिलदेखि नयाँ संशोधित सडक यातायात ऐन लागू गर्ने भएको छ, जसअनुसार मोबाइल फोन चलाउँदै साइकल चलाउने वा ट्राफिक बत्तीको पालना नगर्ने जस्ता साना उल्लङ्घनका घटनामा पनि जरिवाना गरिनेछ, प्रहरी कार्यालयले बिहीवार जानकारी दिएको छ।
अबको व्यवस्था अनुसार, अप्रिल १, २०२६ देखि १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई यस्ता साना उल्लङ्घनका लागि “ब्लू टिकट” दिइनेछ। यो ब्लू टिकट प्रणाली अन्तर्गत जरिवाना तिरेपछि अभियोग लगाईनेछैन। यसले करिब १ सयभन्दा बढी किसिमका सवारी उल्लङ्घनहरू समेट्नेछ। जापान सरकारले साइकल प्रयोगकर्ताहरूको बढ्दो नियम उल्लङ्घनलाई नियन्त्रण गर्न यस्तो कदम चालेको हो।
हालको अवस्थामा, साइकल यात्रीलाई केवल करिब २० वटा गम्भीर अपराधका लागि मात्र “रेड टिकट” दिइन्छ, जस्तै अत्यधिक मादक पदार्थ सेवन गरी साइकल चलाउनु। रेड टिकट पाएको अवस्थामा अनुसन्धान गरी आपराधिक प्रक्रिया अघि बढ्ने सम्भावना हुन्छ, जसले प्रहरी र आरोपी दुवैलाई झन्झट दिने गर्दछ।
अब लागू हुने ब्लू टिकट प्रणाली अन्तर्गत प्रहरीले प्रयोगकर्ताले निर्देशन नमान्दा वा सडकमा खतरा निम्त्याउने व्यवहार देखाउँदा पनि ब्लू टिकट दिन सक्नेछ।
जरिवाना दरहरू निम्नानुसार तोकिएको छस्मोबाइल फोन प्रयोग गर्दा वा स्क्रिनमा ध्यान दिँदै साइकल चलाउँदा – १२,००० येन,ट्राफिक बत्ती नमान्दा – ६,००० येन,छाता समातेर वा इयरफोन प्रयोग गरेर साइकल चलाउँदा – ५,००० येन,दुई जना एउटै साइकलमा चढेर यात्रा गर्दा – ३,००० येन ।
संशोधित ऐन अनुसार, अब साइकल यात्रीले सकेसम्म सडकको बायाँ पट्टि चलाउनुपर्नेछ भने अन्य सवारी साधनले सडकमा साइकल पार गर्दा सुरक्षित गतिमा अघि बढ्नुपर्नेछ।
कोरोना महामारीपछिको समयमा साइकल प्रयोग बढेपछि दुर्घटनाहरूमा पनि वृद्धि भएको भन्दै सरकारले साइकल यातायातलाई सुरक्षित बनाउनेतर्फ चासो देखाएको हो। यसअघि, सन् २०२४ नोभेम्बरमा मादक पदार्थ सेवन गरी साइकल चलाउने वा मोबाइल फोन प्रयोग गरेर सडकमा खतरा सिर्जना गर्ने व्यक्तिलाई जेल सजाय र जरिवानाको प्रावधानसमेत समावेश गरिएको थियो।